नेपाली चेली सम्झनालाई गरिबी र भोकमरी विरुद्धको युवा पुरस्कार
गुगलपाटी संवाददाता काठमाडौंसन् २०१९ को भोकमरी र गरिबी विरुद्धको युवा पुरस्कार नेपाली चेली सम्झना खनालले जित्न सफल भएकी छिन् । १८ देखि २९ वर्षभित्रका युवा प्रतिस्पर्धीबाट नेपाली चेली खनाल विजयी हुँदै पच्चीस हजार अमेरिकी डलर बराबरको पुरस्कार जितेकी हुन् ।
सो पुरस्कारका लागि विश्वभरिबाट ६ हजार ५ सयभन्दा बढीले सहभागिता जनाएका थिए ।
विजेता खनालको “भोकमरी ( एक इतिहास “ भिजन, जसले संसारलाई सन् २०५० भित्र कसरी भोकमरी रहित बनाउन सकिन्छ भन्ने विषयको परिकल्पना गर्दछ, त्यहि सोचको लागि उनलाई यो पुरस्कार प्रदान गरिएको हो । संयुक्त राष्ट्र विकास कार्यक्रमका प्रतिनिधी निर्णायक मण्डली रहेको अवार्ड जुरीले चार चरण लगाएर उक्त पुरस्कारको विजेता घोषणा गरेको हो ।
जुन देश (अथवा जुन जलवायु) मा जे सम्भव छ, त्यसकै वृहत्तर उत्पादन गर्ने, महिलालाई बजार र उत्पादनसँग प्रत्यक्ष जोड्ने, समुहमा आधारित माइक्रोफाइनान्स संजाललाई ग्रामिण भेगमा विस्तार गर्ने, गाउँको उत्पादन–सहरको बजार–पैसा गाउँतिर डोर्याउने, दिगो विकासको लक्ष्य भेट्टाउन गरिब मुलुकको जनताको जिवनमा विज्ञानको प्रयोग र विकाश कसरी गर्ने भन्ने जस्ता अरु थुप्रै भिजन भएको सोचपत्र र अहिलेसम्म उनले कृषि क्षेत्र र महिला सशक्तिकरणमा गरेको नेतृत्वलाई सम्मान गर्दै यो पुरस्कार प्रदान गरिएको विजेता खनालले बताईन् । उनी विगत चार वर्ष देखि यही सोचमा आधारित भएर अनुसन्धान र प्रसारमा लागिपरेकी छिन् ।
उनी हाल नेदरल्याण्ड सरकारको छात्रवृद्धि अन्तर्गत “बागेनिगन विश्वविद्यालया” मा कृषिमा स्नातकोत्तर गर्दैछिन् । यो भन्दा पहिले उनले Youth innovators award Asia 2018 पनि जितिसकेकी छिन् । उनी यो भन्दा पहिले अनेरास्ववियू क्रान्तिकारी त्रिभुवन विश्वविद्यालय समिती सचिव समेत रहेर काम गरिसकेकी छिन् ।