सञ्चारकर्मी रवि लामिछाने र कँडेलको बहस दशैंपछिको पहिलो बिहीवार हुने

गुगलपाटी संवाददाता मकवानपुर
९ आश्विन २०७६ १०:१४

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निवेदन उपर उच्च अदालत हेटौंडाको इजलाशमा दशै पछिको पहिलो बिहीवार हुने भएको छ ।

जिल्ला अदालत चितवनले भाद्र ९ गते सञ्चारकर्मी द्वयलाई क्रमश ५ लाख र ३ लाख रुपैयाँ साथै रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो ।

सरकारी वकीलको कार्यालयको मिसिलमा रुकु कार्की (अस्मिता) लाई समेत प्रतिवादी बनाईएकोले प्रतिवादी कार्कीका तर्फबाट अधिवक्ता रामकृण देउलाले आजको बहस, सुनुवाई स्थगित गरी पाउँ भनी गत भाद्र २६ गते उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दिएको हुनाले आजको बहस स्थगित भएको उच्च अदालत हेटौंडाका प्रवक्ता अमृत घिमिरेले बताएका छन् ।

उनका अनुसार हेटौंडा इजलाशमा तल्लो तहको अदालतको विषयमा गरिने सुनुवाई वा बहस प्रत्येक विहिबार मात्रै हुने कार्यतालिका भएकाले सम्भवत आश्विन ३० गते बहस तथा सुनुवाई हुने सम्भावना रहेको बताएका छन् ।

सञ्चारकर्मी लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको आदेश बेरितको रहेकोले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रहि मुद्दा पुर्पक्ष गरी पाऊँ भनी भाद्र १७ गते उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

तपाईको प्रतिक्रिया