मकवानपुरको नयाँ पर्यटकिय गन्तव्य“रुद्र स्मृती बाटिका”

गुगलपाटी संवाददाता
२ कार्तिक २०७६ १२:३८

नेपाल सरकारले ‘भिजिट नेपाल २०२०’ मनाउने तयारी गरिहँदा मकवानपुरमा नयाँ पर्यटकीय गन्तब्य थपिएको छ ।
मकवानपुरगढी गाउँपालिका ४ स्थित कालिखोलामा रहेको रुद्र स्मृती बाटिका पर्यटकीय गन्तब्य बन्दै गएको हो । एक दशक अघिसम्म स्थानीयले गाईबाख्रा चराउने खुल्डा डाँडा हरियाली मात्र भएको छैन । हेटौंडा नजिकै नयाँ पर्यटकीय गन्तब्य पनि थपिएको छ ।


बाटिकालाई ब्यवस्थित गर्न ३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले १ करोड रुपैयाँ सहयोग गरेको छ । मन्त्रालयको सहयोगबाट करिब ५ बिगाह क्षेत्रफलमा फैलिएको बाटिकामा तारबारसहित बगैचा, बस्ने कुर्सीहरु, ट्रस, सभाहल, पर्खाल निर्माण गरिएको रुद्र पाख्रिन स्मृति प्रतिष्ठानकी अध्यक्ष मानकुमारी नेपालीले बताइन् ।
प्रतिष्ठानले करिब ७ करोड रुपैयाँ लागतमा निर्माण हुने बिभिन्न संरचनाको डिपीआर तयार पारेको छ । यहाँ बनभोज खाने ठाउँ, स्वीमिङ पु्ल, बाल उद्यान, तामाङ संग्राहलय र सहिद स्तम्भ निर्माण गर्ने योजना रहेको अध्यक्ष नेपालीले बताइन् ।


आन्तरिक मामिला तथा कानून मन्त्रालयले गत आर्थिक वर्षबाट शान्ति बाटिका निर्माण अभियान थालेको हो । चालु आर्थिक वर्षमा १ सय १९ वटै स्थानीय तहमा बाटिका निर्माणको लागि १० करोड रुपैयाँ बजेट बिनियोजन गरिएको आन्तरिक मामिला तथा काननु मन्त्री शालिकराम जम्मकट्टेलले बताए । त्यसको लागि स्थानीय तहहरुसँग प्रस्ताव माग गरिएको छ । ‘जनयुद्ध लगाययतका बिभिन्न आन्दोलनबाट देशमा परिवर्तन भएको छ तर पछिल्लो पुस्तालाई यसबारे थाहा नहुन सक्छ’, शनिबार रुद्र स्मृती बाटिकाको अवलोकन गर्दै मन्त्री जम्कट्टेलले भने, ‘त्यसैले जनयुद्धका शहिद,बेपत्ताहरुको स्मृतिमा पार्क, स्मारक, बाटिका आदी निर्माण गरेर पर्यटकीय क्षेत्र निर्माण गर्न लागेका हौं ।’