स्थायी राजधानीको रुपमा हेटौंलाई स्वागत गर्न आतुर छौं : न्यौपाने
गुगलपाटी संवाददाताहेटौंडा/३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा हुने निश्चित भएपछि नीजि क्षेत्र थप उत्साहित भएको छ । देशकै औद्योगिक क्षेत्रको रुपमा रहेको हेटौंडा प्रदेशको स्थायी राजधानी भएपछि उद्योग ब्यवसाय क्षेत्रको थप प्रवर्धन हुने अपेक्षा गरिएको उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपानेले बताए ।
‘उद्योगी ब्यवसायीहरु हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानीको रुपमा हेर्न आतुर छौं’, मकवानपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका उनले भने, ‘हेटौंडा स्थायी राजधानी हुनु उद्योगी ब्यवसायीको मात्र नभई प्रदेश ३ का सबै नागरिकको लागि खुशीको विषय हो ।’ प्रदेश ३ को राजधानी हेटौंडामा दिपावली गर्ने समय उद्योगी ब्यवसायीले पर्खिरहेको न्यौपानेको भनाई छ ।
तत्कालिन मध्यमाञ्चाल विकास क्षेत्रको समेत राजधानी रहेको हेटौंडालाई प्रदेश ३ को राजधानी राजनीतिक दलहरुले निकै समझदारीका साथ कायम गर्ने निर्णय गरेको उनले बताए । ‘हेटौंडालाई स्थायी राजधानी बनाउन लागिपर्ने सबै राजनीतिक दल धन्यवादका पत्र हुन्, यो अभियानमा लाग्ने सबैलाई धन्यवाद र बधाई पनि छ’,उनले भने । प्रदेश ३ को राजधानी हेटौंडा देशकै पुरानौ र ठुलो औद्योगिक नगरी पनि हो ।
आज प्रदेशसभामा प्रदेश ३ को स्थायी राजधानीको लागि राजधानी र नामको प्रस्ताव दर्ता गर्ने समय बिहान ९ देखि ११ बजेसम्म तोकिएको छ । भोली पुस २७ गते मतदान प्रक्रियाबाट हेटौंडा राजधानी र नाम बागमती टुङ्गो लगाउने कार्यसूची रहेको छ ।