सागमा पदक विजेता खेलाडीलाई सम्मान (भिडियो सहित)
गुगलपाटी संवाददाता
हेटौंडाः १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता मकवानपुरे खेलाडी र प्रशिक्षकलाई मंगलबार सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिकाले सागमा पदक विजेता १३ खेलाडी र ५ जना प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो। हेटौंडा उपमहानगरपालिकामा भएको सम्मान कार्यक्रममा खेलाडी तर्फ स्वर्ण पदक विजेता फुटबलका सुनिल बल, कराँतेका महशुस मोक्तान, तेक्वान्दोका संजिवकुमार ओझा र निशा दर्नाल, रजत पदक विजेता उसुकी शिलु डंगोल, बास्केटबलकी माया स्याङ्तान र निकेश मगर र हेन्डबलकी देवकुमारी बाँस्कोटा र कास्य पदक विजेता कराँते रिता कार्की, उसुका हरिप्रसाद गोले, खोखोका राजन बल, बक्सिङका पुरन राई र विकास लामालाई सम्मान गरिएको थियो। बक्सिङका मकवानपुर प्रशिक्षक लालबहादुर पौडेल, कराँते प्रशिक्षक नरेन्द्र श्रेष्ठ, तेक्वान्दो प्रशिक्षक माधव कोइराला, फुटबल प्रशिक्षक विजयलाल श्रेष्ठ र उसुका राष्ट्रिय प्रशिक्षक विमल थापा मगरलाई पनि सम्मान गरिएको थियो। स्वर्ण विजेतालाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ र समन्वय समितिले २५ हजार, रजत बिजेतालाई उपमहानगरपालिकाले ७५ हजार र समन्वय समितिले २० हजार, कास्य पदक विजेता खेलाडीलाई उपमहानगरपालिकाले ५० हजार र समन्वय समितिले १५ हजार रुपैयाँसहित सम्मान गरेको थियो भने प्रशिक्षकलाई उपमहानगरपालिकाले २५ हजार रुपैयाँ र जिल्ला समन्वय समितिले ५ हजार रुपैयाँसहित सम्मान गरेको थियो। सम्मान अघि सागमा पदक ल्याउने खेलाडीलाई हेटौंडा उपमहानगर परिक्रमा गराइएको थियो। फूलमाला, नेपालको झण्डा र बाजागाजासहित परिक्रममा गरिएको हो। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत लगायतले खेलाडीलाई नगदसहित सम्मान गरेका थिए। सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, हेटौँडा उपमहानगरपालिका उपप्रमुख मिना लामा, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख खुशराज दाहाल लगायतको उपस्थिति रहेको थियो।
यसरी नगर परिक्रमा गरिएको थियो, हेर्नुस भिडियो ।
Gepostet von Sangit Shrestha am Dienstag, 14. Januar 2020
भिडियो : संगित श्रेष्ठको फेसबुकबाट