मकवानपुरमा अबैध उत्खनन् गरेपछि सांसद विरुद्ध पक्राउ पूर्जी

गुगलपाटी संवाददाता
९ माघ २०७६ ०४:२८

मकवानपुर :  सामुदायीक वनभित्र नदीजन्य पदार्थको अबैध उत्खनन् गरेपछि प्रतिनिधिसभाका सदस्य बहादुर सिं लामा सहित ४ जना बिरुद्ध डिभिजन वन कार्यालय मकवानपुरले पक्राउ पूर्जी जारी गरको छ ।
पूर्वी मकवानपुरको बकैया ७ स्थित कालिवन सामुदायीक वन क्षेत्रभित्र अबैध ढुङ्गा गिटी बालुवा उत्खनन् गरिरहेको अवस्थामा एक्साभेटर सहित चालक नरेश राम महरालाई डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेल नेतृत्वको टोलीले गत पौस १३ गते पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा कालिवन सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष हरिलाल स्याङ्तानलाई पनि वन कार्यालयले पक्राउ गरेको छ ।
चालक सहित एक्साभेटर नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त काम हिमडुङ एण्ड थोकर कन्सट्रक्शन प्रा.ली., टोखा नपा ७ धापासी काठमाण्डौंको रहेको पत्ता लागेको थियो । कम्पनीका सञ्चालक समितिका अध्यक्ष नुवाकोटका प्रतिनिधिसभा सदस्य लामा, अर्का सञ्चालक नुवाकोट पञ्चकन्या ५ का निर्मल प्रसाद सिटौला र चितवन भरतपुर ९ का शिव घिमिरे रहेको बिवरण खुलेपछि कम्पनीका प्रतिनिधिलाई पुस १५ गते वन कार्यालयले सम्पर्कमा आउन पत्र लेखेको थियो । तर जिल्ला अदालतबाट दोस्रो पटक म्याद थप हुँदा समेत कम्पनीका कुनै ब्यक्ति सम्पर्कमा नआएपछि अदालतको अनुमतिमा पुस २८ गते कम्पनीका तीनै जना सञ्चालक बिरुद्ध पक्राउ पूर्जी जारी गरि खोजिकार्य भइरहेको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख पौडेलले बताए ।

सञ्चालकहरुसँगै उक्त कम्पनीको बकैया ७ स्थित अठारविगाह सम्पर्क कार्यालयमा काम गर्ने नुवाकोटको बिदुर १० का सुवास डंगोल बिरुद्ध पनि पक्राउ पुर्जी जारी भएको उनले जानकारी दिए ।
उक्त कम्पनीले सामुदायीक वन क्षेत्रभित्र ९ हजार ५ सय ६४ क्यु फिट ढुङ्गा, गिटी, बावुला र माटो अबैध उत्खनन् गरी चोरी गरेको वन कार्यालयको दावी छ । उक्त बिगो बापत १ लाख ६४ हजार १ सय १२ रुपैयाँ ५० पैसा जरिवाना र वन ऐन,२०७६ को दफा ५० को उपदफा ३ बमोजिम साढे ५ वर्ष कैद सजाँय माग गरिएको वन कार्यालयका उक्त मुद्धा हेर्ने अधिकारी सहायक वन अधिकृत बसन्तराज गौतमले बताए ।

‘हामीले २५ दिनसम्म अनुसन्धानको म्याद पाउँछौं, सरकारी वविलबाट फाईल राय सहितको फाइल प्राप्त भएको अब अदालतमा मुद्धा दर्ता गदैर्छौ’, उनले भने ।
सहायक वन अधिकृत गौतमका अनुसार नियम बिपरित शुल्क लिएर नदीजन्य पदार्थ बिक्री गर्ने बकैया गाउँपालिकालाई जवाफ पेश गर्न पत्र लेखिएको छ । अनुसन्धानको क्रममा वन कार्यालयले गाउँपालिकाले अबैध ढंगले उक्त कम्पनीलाई नदीजन्य पदार्थ बिक्री गरेको १४५१ देखि १५०० सम्मको बिक्री रसिदको ठेली पनि नियन्त्रणमा लिएको उनले बताए । गाउँपालिकाले उक्त कम्पनीलाई ४ हजार २ सय ७१ रुपैयाँ ४० पैसाका दरले प्रति ट्रिपर नदीजन्य पदार्थ बिक्री गरेको रसिदमा उल्लेख छ ।

यस्तो छ रसिद


‘सामुदायीक वन क्षेत्रभित्र इआई, आईई पनि नगरिएको र वन कार्यालयको समेत अनुमति नलिई यसरी नदीजन्य पदार्थको उत्खनन् वन ऐन बिरुद्धको कार्य भएकाले हामीले कारबाही अघि बढाएका हौं’, वन कार्यालय प्रमुख पौडेलले भने, ‘उक्त कम्पनीले सामुदायीक वनभित्रबाट नदीजन्य पदार्थ अबैध उत्खनन् गरी फाष्ट ट्रयाकमा प्रयोग गरेको पाइएको छ । हिमडुङ एण्ड थोकर कन्सट्रक्सन प्रा.ली.ले काठमाण्डौं तराई द्रुत मार्ग (फाष्टट्रयाक) निर्माणको क्रममा उक्त सामग्री प्रयोग गर्दै आएका थिए । बाहिरबाट सामग्री मगाउनुभन्दा नजिकै रहेको वनक्षेत्रबाट उत्खनन् गर्दा दोब्बर सस्तो मुल्य पर्ने भएपछि कम्पनीले गाउँपालिकासँगको मिलेमतोमा उक्त कार्य गरेको वन कार्यालयको दावी छ । कम्पनीले कत्लेखोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरी फाष्ट ट्रयाक निर्माणस्थल अठारबिगाहमा लैजाने गरेको बकैया गाउँपालिकाले काटेको नगदी रसिदमा उल्लेख छ ।
बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले गाउँपालिकाले उत्खनन्को लागि स्वीकृति नदिएको बताए । ‘फाष्ट ट्रयाक नजिकै फाष्ट ट्रयाककै साइटबाट निकालिएको भनेर १०÷१५ टिप ढुङ्गा गिटीको हामीले राजश्व काटेका मात्रै हौं’, उनले भने, ‘वनको अधिकार क्षेत्र भएकाले अरु कारबाही र खोज्ने काम वनले नै गर्छ ।’ हिमडुङ एण्ड थोकर कन्सट्रक्सन कम्पनीका अध्यक्ष लामा सहित तीनै जना सञ्चालकले फोन उठाएनन् ।

अन्नपुर्ण पोष्टको सहयोगमा