तेस्रो बागमती गोल्डकप फागुनमा हुने
गुगलपाटी संवाददाताबागमती गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुनमा हुने भएको छ । शुक्रबार पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशी समेत दुई गुणा बृद्धी गरिएको जानकारी दिएको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष अरुण लामा बलले प्रतियोगितामा प्रथम हुने टिमलाई छ लाख र दोस्रो हुने टिमलाई तीन लाख रुपैंयासहित शिल्ड, प्रमाणपत्र दिईने बताए । फागुन १ गतेदेखि १० गतेसम्म हुने प्रतियोगिता हेटौंडाबाट ४५ किलोमिटर पूर्वस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा ६७ लाख ६५ हजार रुपैंया खर्च हुने अनुमान रहेको उनले बताए ।
५ वटा ए डिभिजन, प्रदेशस्तरीय र जिल्लास्तरीय गरी ४ वटा र आयोजक टिमसमेत गरि १० टिमको सहभागिता रहने प्रतियोगिताको करिब २५ हजार जना दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५० हजार तथा विधागत उत्कृष्ट ५ खेलाडीलाई जनही १० हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैंयासहित मेडल र प्रमाणपत्र दिईने अध्यक्ष बलको वताए ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले अब श्रमिक मात्र होईन गाउँमै फुटबल खेलाडी उत्पादन गरेर विदेश पठाउन सके धेरै कमाई हुने बताए । प्रतियोगिता मार्फत् बागमती गाउँपालिकाको पनि प्रचारप्रसार हुने भन्दै उनले प्रतियोगिताका लागि गाउँपालिकाले ३० लाख रुपैंया सहयोग गर्ने बताए ।
प्रतियोगितामा विरगन्ज युनाईटेड, नवजागृती सिमरा, बागमती क्लब (सर्लाही), मकवानपुर ११ लगायतले खेल्ने बताएपनि ए डिभिजन क्लबहरुसँग भने समन्वय भईरहेको बताईएको छ । दोस्रो बागमती गोल्ड कप २०७५ को उपाधी सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कप २०७५ को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुलीले आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।
कार्यक्रममा बागमती गाउँपालिका ४ का वडा अध्यक्ष रहरमान थिङ्ग, जनता माबिका प्राचार्य बसन्त राई लगायतको उपस्थिति रहेको थियो ।