जन्मेको माटोप्रति न्यायः बेलायत बस्ने नेपालले धादिङमा बनाइदिए ५ करोडको विद्यालय भवन

गुगलपाटी संवाददाता
१९ माघ २०७६ ११:३४

हेटौंडाः धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ डुम्रिचौरमा जन्मिएर ३० बर्षदेखि बेलायत बस्दै आएका नेपाली व्यवसायी उत्तम नेपालले आफ्नो जन्मस्थानमा करीब ५ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरिदिएका छन्। बेलायतमा सन् १९९१ देखि व्यवसाय गरिरहेका व्यवसासी उत्तम नेपालले आफ्नो जन्न्मथलो धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ डुम्रिचौरस्थित सरस्वती माध्यामिक विद्यालयका लागि नयाँ भवन निर्माण गरिदिएका हुन्।

कुल १६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा अत्याधुनिक विद्यालय भवन निर्माण गरिएको छ। हाल ३८० जना विद्यार्थी क्षमता भएको विद्यालयले नयाँ भवन बनेसँगै अबदेखि ५०० भन्दा विद्यार्थी पढाउन सक्नेछ। ‘आफु जन्मेको गाउँमा रहेको २०१८ सालमा स्थापना भएको बिद्यालय र गाउँका धेरै घर २०७२ सालको भुकम्पले भत्काईदिएकाले जन्मभूमीका लागि केही गर्छु भनेर विद्यालय निर्माणको अठोट लिएको थिएँ, विद्यालय भवन निर्माणमा सहयोग गरेका नेपालले भने, धेरै ठूलो सहयोग गर्न नसकेपनि साना बालबालिकाको उज्ज्वल भविष्यको लागि सानो सहयोग गाउँमा गरेको छु’, नेपालले भने। विदेशमा बसेर दुःख गरेर जम्मा गरेको सानो हिस्सा आफ्नो मातृभूमिको लागि सहयोग गर्न पाउँदा निकै खुसी लागेको नेपालको भनाई छ।

नयाँ विद्यालय भवनको उद्घाटन केही दिन भित्रै सम्पन्न गर्ने तयारीमा लागिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। बेलायतमा रहेका नेपालीमध्ये एक सफल व्यवसायीको रुपमा उत्तम चिनिन्छन्। उनको ुउत्तम लण्डनु भन्ने कपडाको ब्राण्ड विश्वबजारमा निकै लोकप्रिय छ। उनले भुकम्प लगत्तै गाउँमा आएर भुकम्प पिडितहरुलाई खाद्यान्न तथा त्रिपाल सहयोग गरेका थिए। व्यवसायी नेपाल समय समय विभिन्न किसिमका सहयोग कार्यक्रम लिएर आफ्नो जन्मभूमी आउने गरेका छन्। नेपालको यो सहयोगले मानिस संसारको जुनसुकै कुनामा पुगेपनि आंफु जन्मिएको ठाउँलाई भुल्नु हुँदैन भन्ने सन्देश दिएको जिल्ला समन्वय समिति धादिङका प्रमुख एवम सरस्वती माविका पुर्व प्रधानाध्यापक जगन्नाथ नेपाल बताउँछन्‌।
स्रोतः थाहाखबर