कोरोना भाइरसको त्रासः पोखरा विमानस्थलमा पनि हेल्थ डेस्‍क

गुगलपाटी संवाददाता
२० माघ २०७६ १०:४९

हेटौंडाः पोखरा विमानस्थलमा पनि कोरोना भाइरस संक्रमितहरूको स्वास्थ्य परीक्षण गर्न हेल्थ डेस्‍क स्थापना भएको छ। चीनबाट फैलिएको कोरोना भाइरसका संक्रमितहरू नेपालमा पनि भेटिएपछि पर्यटकीय शहर पोखरामा सम्‍भावित जोखिम न्यूनीकरण गर्न हेल्थ डेस्‍क स्थापना गरिएको पोखरा विमानस्थल प्रशासनले जनाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिकाको सहकार्यमा डेस्‍क स्थापना गरिएको हो। नेपाल आउने चीनियाँ पर्यटकहरूको प्रमुख गन्तव्यसमेत हो पोखरा। यहाँ आउने पर्यटकहरूलाई लक्षित गरी विमानस्थलमा स्वास्थ्य परीक्षण गर्न आवश्यक उपकरणसहित २ जना स्वास्थ्यकर्मी खटाइएको छ।

‘हेल्प डेस्कमा स्वास्थ्यकर्मीले रुघाखोकी, ज्वरो र अन्य संक्रमणको लक्षण देखिएका बिरामीको सामान्य परीक्षण गरी रगतको नमुनासमेत लिने व्यवस्था गरिएको छ,’ प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले भने, ‘कोही संकास्पद बिरामी भेटिए उहाँलाई तत्कालै उपचार हुने ठाउँमा रिफर पनि यही डेस्‍कले गर्छ।’ प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले कोरोना भाइरसबारे जानकारी गराउन पर्यटकीय केन्द्र पोखराको लेकसाइडमा पर्यटकहरूलाई नै केन्द्रित गरेर हेल्पडेस्‍क पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ। ‘हेल्थ डेस्‍कमा स्वास्थ्य परीक्षण हुने भइहाल्यो,’ उनले भने, ‘हेल्पडेस्‍कमा चाहिँ चीनबाट आएका पर्यटकहरूसँग मानिसहरूको हेलमेल कत्तिको भएको छ।

उहाँहरूको स्वास्थ्य स्थिति कस्तो छ भन्नेबारे जानकारी लिइन्छ।’ हेल्थडेस्‍कमा रगत परिक्षण गर्दा कोरोना भाइरसको शंका लागेमा उक्त रगत र बिरामीलाई काठमाडौं पठाइने उनले बताए। निर्देशनालयले गण्डकी प्रदेशभित्रका सबै स्वास्थ्यसंस्थाहरूमा कोरोना भाइरसको बारेमा स्थानीयलाई जानकारी गराउन पत्राचारसमेत गरिसकेको छ। निर्देशनालयले माक्सको प्रयोग गर्न, अस्पतालमा इमजेन्सी कक्ष तयारी अवस्थामा राख्न पनि मातहतका स्वास्थ्य केन्द्रलाई भनेको छ।
स्रोतः अनलाइन