ए डिभिजन लिगमा मनाङको अपराजित यात्रामा पूर्णविराम
गुगलपाटी संवाददाताहेटौंडाः शहीद स्मारक एु डिभिजन लिगमा साविक विजेता मनाङ मर्स्याङदी क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ। आज पहिलो हार बेहोरेसँगै मनाङको उपाधि होडमा समेत धक्का लागेको छ। दशौं चरणको खेलमा मनाङलाई च्यासल युथ क्लबले २—० को गोल अन्तरले हार चखाउँदै स्तब्ध बनायो। एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङको अपराजित यात्रामा पूर्ण विराम लगाउन विदेशी खेलाडी ताईगा नाकामुरा र कप्तान सन्तोष साहुखलले एकएक गोल गरे।
खेलको २४ औं मिनेटमा नाकुमुराको गोलबाट अग्रता लिएको च्यासललाई ९० प्लस ४ मिनेटमा गोल थप्दै सन्तोषले २—० को नतिजा दिलाएका हुन्। १० खेल खेलेको मनाङले यसअघि ५ खेल जित्दा ४ खेलमा बराबरी गरेको थियो। यससँगै मनाङको मच्छिन्द्रसँग अंक बराबरी गर्ने लक्ष्यमा समेत धक्का लागेको छ। अंकतालिकामा मनाङको १९ अंक रहेको छ भने शीर्ष २ मा रहेको मच्छिन्द्रको २२ अंक छ। त्रिभुवन आर्मी क्लब २३ अंकसहित शीर्ष स्थानमा छ। आजको जितसँगै च्यासल भने नवौं स्थानमा उक्लिएको छ र उसको कुल १२ अंक भएको छ ।
च्यासलका हायातो वाकिनो म्यान अफ दी म्याच चुनिए। आजै अर्को खेलमा ब्रिगेड ब्वाईलाई १—० ले पराजित गर्दै जावलाखेल युथ क्लबले चौथो जित निकालेको छ। जावलाखेल अंकतालिकामा कुल १५ अंक जोड्दै शीर्ष ६ मा पर्न सफल भएको छ। १० खेलबाट ८ अंक बनाएको ब्रिगेड तालिकाको ११ औँ स्थानमा छ। जाउलाखेललाई जित दिलाउन सुजित बुढाथोकीले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ३२ औं मिनेटमा गोल गरेका थिए। जावलाखेलकै दिलन लोक्ताम म्यान अफ दि म्याच चुनिए।
स्रोतः थाहाखबरको सहयोगमा