धरानको अर्को परिचय बूढासुब्बा गोल्डकप
गुगलपाटी संवाददाताहेटौंडाः कुनै पनि अवसरले निरन्तर २ दशक छिचोल्नु चानचुने कुरा होइन। देश द्वन्द्वको चपेटा थियो, त्यही बेला नेपाली फुटबल पनि नेतृत्व विवादका निरन्तर खस्कँदै थियो। तर यस्ता केही प्रतियोगिताहरु आयोजना भए जसलाई न त नेतृत्व विवादले नै छेक्यो न त शसस्त्र द्वन्द्वले नै। २०५७ सालतिर एन्फामा गणेश थापा र गीता राणाबीच नेतृत्व विवादमा फसेर नेपाली फुटबल ओरालो लागेको थियो। सीमित मात्र फुटबल प्रतियोगिता आयोजना भइरहेको अवस्थामा दुई पक्षको विवादकै कारण शहिद स्मारक लिग ३ वर्षसम्म रोकियो। झापामा २०२४ सालदेखि आयोजना हुँदै आएको त्रिभुवन गोल्डकप पनि रोकियो। त्रिभुवन गोल्डकप २०३१ सालदेखि २०३५ सालसम्म निरन्तर सञ्चालनमा थियो। तर ०३६ को जनमत संग्रहका बेला स्थगित भयो। त्यसपछि पुनः २०४७ सालसम्म चल्यो। २०४७ सालपछि एकैचोटि प्रतियोगिता ०५९ सालमा आयोजना भयो। २०६० मा पुनः एकवर्ष रोकिएर २०६१ सालमा भयो। त्यसपछि त्रिभुवन गोल्डकप हुन सकेको छैन। २०३८ सालदेखि सुरु भएको महेन्द्र गोल्डकपले पनि निरन्तरता पाएन। २०६९ पछि आएर विराट गोल्डकपमा रूपान्तरण भयो। त्यो पनि नियमित हुन सकेको छैन। त्रिभुवन गोल्डकप र महेन्द्र गोल्डकप राजनीतिक परिर्वतनपछि अनियमित हुँदै गए। पूर्वमा नियमित सञ्चालन हुने प्रतियोगिताको रुपमा बुढासुब्बा गोल्डकप दरियो। यो प्रतियोगिता २०५५ वर्षदेखि हरेक निरन्तर हुँदै आएको छ। निरन्तर यात्रामा रहेको बुढासुब्बा गोल्डपका नायक बने एन्फा प्रदेश १ का अध्यक्ष किशोर राई ‘झापाली’। परिकल्पना आफै पनि खेलाडी भएकाले किशोरमा फुटबलप्रतिको मोह गज्जबको थियो। ४० को दशकमा पूर्बेली फुटबलका लागि एउटा ब्रान्ड जस्तै बनेका थिए किशोर। २०४२ सालमा तत्कालिन समयको प्रतिष्ठित महेन्द्र गोल्डकपमा सहभागी हुन विराटनगर गएका बेला त्यहाँको गरिमालाई देखेर उनले मनमनै त्यसबेला प्रण गरे, भविष्यमा धरानलाईसमेत गोल्डकपकै नामबाट चिनाउँछु। उनले लिएको उद्धेश्य पूरा हुन झन्डै १३ वर्ष लाग्यो। धरानमा कुनै ठूलो उत्सव हुनेबित्तिकै झगडा हुने गरेकाले प्रतियोगिता आयोजना गर्न ठूलो चुनौती थियो। कतिपयले प्रतियोगिता सफल हुनेमा आशंका पनि गरे। तर किशोर आफनो लक्ष्यबाट बिचलित नभइ फुटबल सफल बनाउन जुटिरहे। फुटबल र राजनीति २०५२ सालमा उनी जिल्ला फुटबल संघको सदस्यमा निर्वाचित भए। जिल्ला फुटबल संघमा प्रवेश गर्दै गर्दा बुढासुव्वाको योजना लिएर अगाडी बढे। २ वर्षपछि नै किशोर सचिव बने। त्यसै वर्ष ९०५४० मा स्थानीय निकायको चुनावमा वडा नम्बर १२ को अध्यक्ष पदमा चुनिए। जनप्रतिनिधि भएपछि नगरपालिकामा कार्यरत पूर्वचर्चित स्ट्राइकर गोविन्द राईलेसमेत किशोरको योजनामा सहमतिका साथ सहयोग गर्ने प्रतिवद्धता जनाएपछि अझै हौसिएर प्रतियोगिता गर्न कमर कसे। ‘गोल्डकप आजको अवस्थामा आउनुमा गोविन्दको ठूलो हात छ। सुरुमा उहाँबाट हौसला नपाएको भए आज बुढासुव्वा नेपालको प्रतिष्ठित गोल्डकप हुने थिएन’, उनले सुनाए। २०५५ सालमा खेलाडीलाई समेटेर ११ सदस्यीय धरान फुटबल क्लब स्थापना भयो। ‘त्यसै साल बूढासुब्बाको नाममा गोल्डकप गर्ने निर्णय पनि भयो। तर, धरान रंगशालाको मैदान प्रतियोगिता गराउन सकिने अवस्थामा थिएन’, उनले अगाडि भने, ‘त्यसबेला बिपी प्रतिष्ठानबाट चपरी माटो ल्याएर मैदान तयार गरेपछि मंसिरमा प्रथम बूढासुब्बा गोल्डकप आयोजना भयो। पहिलो संस्करण नै ऐतिहासिक बन्यो।’ बूढासुब्बा सुरु गर्दाका हण्डर अझै किशोरका स्मृतिमा घुमिरहन्छन्। ‘क्लबका सदस्यहरुले आफनो क्षमता अनुसार पैसा दियाँै। धरानवासीले पूर्ण सहयोग गरेकाले पहिलो संस्करणमा क्लबले राम्रो नाफा पनि कमायो’, उनले भने, ‘यो गोल्डकपलाई बचाउन त कति दुःख र सास्ती पाएका छौं, वर्णन गरेर सकिन्न। तर, निरन्तरता दिन पाउँदा खुशी छौं।’ बुढासुब्बाको २२ औ संस्करणसम्म आइपुग्दा सबैभन्दा सफल टोली थ्रीस्टारले ५ संस्करण आफनो पक्षमा पारेको छ। नेपाल पुलिस ९साविकको महेन्द्र पुलिस क्लब० ले ४ संस्करणको बिजेता बन्दा ५ संस्करण फाइनलमा हा¥यो। कुल ११ क्लबले बूढासुब्बाको उपाधी जितेका छन्। जथाभावी गोल्डकपले प्रश्न देशभरमा ए डिभिजनका क्लबहरु सहभागी हुने ३ दर्जन बढी गोल्डकप आयोजना हुन्छन्। तर प्रतियोगिताको स्तर ख्याल नगर्दा प्रतिष्ठित आहारारा, तिलोत्तमा, बुढासुब्बा जस्ता प्रतियोगिताहरुको गरिमा घटदै गएको राई बताउँछन। ‘पहिला गोल्डकप प्रतियोगिता भनिरहँदा शिल्डमा सुनको सानो पातो टासिएको हुन्थ्यो, त्यही बोकेर शहर घुम्दा कम्ती मज्जा हुन्थेन’, उनले सुनाए, ‘तर आजकाल जथाभावी खेतका गरा र आलीमा पनि गोल्डकपका नामले खेलाइन्छ। कुन हो गोल्डकप कुन हो टोलकप छुटयाउनै गाह्रो।’ विगतमा पूर्वी नेपालका कमै फुटबल प्रतियोगिता हुन्थे। ‘विगतमा प्रदेश नम्बर एकमा गोल्डकप एवम् प्रतियोगिताको संख्या न्यून थियो’, उनले भने, ‘त्यसैले बूढासुब्बाको क्रेज थियो। अहिले त जताततै गोल्डकप हुन्छन्, राष्ट्रिय खेलाडी पनि जुनसुकै प्रतियोगितामा खेल्न गएपछि बूढासुब्बाको क्रेजमा कमी आएको हो।’ पुरस्कार र म्याच मनीको आर्कषणले विभिन्न गोल्डकपमा प्रतिष्ठित क्लब र खेलाडी समावेश हुन्छन्। तर सबै प्रतियोगिताहरुमा अपेक्षाअनुरुप खेलाडीले पुरस्कार पाउन नसक्नु बिडम्बना रहेको राई बताउँछन। ‘प्रतिष्ठाका नाममा जति मन लाग्यो पुरस्कार राशी तोक्ने चलन छ। टिमलाई दिने रकम नहुँदा आयोजकहरु समस्यामा छन’, उनले विकृति सुनाए, ‘त्यसैले हामीले पुरस्कार राशी भन्दा पनि प्रतियोगितको स्तरलाई ध्यानमा राखेका छौँ।’ बुढासुब्बाले बिजेतालाई १० लाख र उपविजेतालाई ५ लाख सहित अन्य विधागत पुरस्कारसमेत राखेको छ। बूढासुब्बा गोल्डकपलाई दक्षिण एसियास्तरको बनाउने, पुरस्कार अमेरिकी डलरमा राख्ने र खेलाडीलाई पनि अमेरिकी डलरमै भत्ता दिने अवस्था भविष्यमा आउने अध्यक्ष राई बताउँछन। बाँसकै पारापिट १४ औ संस्करणबाट एन्फा टेक्निकल सेन्टरको सानो मैदानमा संचालित प्रतियोगितालाई गत वर्षदेखि पुनः धरान–१६ स्थित धरान रंगशालामा फर्काइएको छ। तर अन्य प्रतियोगिता झै बुढासुब्बालाई पनि बाँसको पारापिटले छाडेको छैन। पक्की पारापिटसहितको मैदान भए पनि पर्याप्त नहुँदा बाँसको पारापिट बनाउनुपर्ने दुःखद अवस्था रहेको महासचिव प्रताप तामाङ बताउँछन्। २२ औ संस्करण सुरु यस बर्षको संस्करण आजबाट सुरु हुँदैछ। धरान रंगशालामा फागुन १७ गतेसम्म हुने प्रतियोगितामा कुल ८ टिम सहभागी हुनेछ। लिग विजेता मच्छिन्द्र क्लब, मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब, प्रदेश १ लिग उपविजेता बेलबारी फुटबल क्लब, मेत्री नेत्रालय काकडभिट्टा ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब सहभागी हुनेछन्। विदेशी टोलीका रुपमा युके एफसि भारत र दुर्गापुर वेस्ट बंगाल सहभागी हुने आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ। प्रतियोगितामा ६५ वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क प्रवेशको व्यवस्था समेत क्लबले मिलाएको छ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको डियो स्कुटर, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १५ हजार, सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पुरस्कार जित्नेछन्। त्यस्तै उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पुरस्कार जित्नेछन्।
स्रोतः थाहाखबर