सर्वोच्चले भन्यो : चार प्रहरी अधिकृतविरुद्ध अवहेलना मुद्दा चलाउनू
गुगलपाटी संवाददाताकाठमाडौंः प्रहरी महानिरीक्षकसहित चारजना प्रहरी अधिकृतविरुद्ध सर्वोच्च अदालतले अदालतको अवहेलनामा मुद्दा चलाउन आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरणको आदेश जारी भई थुनामुक्त भएका व्यक्तिहरूलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउका घटना बारम्बार दोहोरिएपछि प्रहरी महानिरीक्षक, महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे प्रमुख, महानगरीय प्रहरी परिसर टेकु प्रमुख र महानगरीय प्रहरी वृत्त सिंहदरबार प्रमुखविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गर्न आदेश दिएको हो। अदालतले छोड्न आदेश दिँदा पनि प्रहरीले फेरि पक्राउ गरेर हिरासतमा लिएको भन्दै नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीको तर्फबाट भीमप्रसाद शर्माले सर्वोच्चमा रिट दायर गरको थिए। त्यही रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण आदेशबाट छुटेका व्यक्तिलाई अदालतको गेटबाट पक्राउ गरेको भन्ने उजुरीमा सुनुवाइ गर्दै अदालतको मानहानिमा प्रहरी अधिकारीहरूविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको हो। चन्द समूहका तीनैजना कार्यकर्ता फागुन ५ गते सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरण आदेशमा रिहा भएका थिए। सर्वोच्चको आदेशमा रिहा भएका उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले अदालतको गेटबाटै पक्राउ गरेको थियो।
स्रोतः थाहाखबर