हेटौंडाकी रिमालाई जलाएर श्रीमान फरार, अस्पतालमा अलपत्र

गुगलपाटी संवाददाता
२४ फाल्गुन २०७६ १०:०१

काठमाण्डौः ३४ वर्षकी रिमा बल अहिले शुष्मा कोइराला मेमोरियल हस्पिटलमा हुनुहुन्छ । शरीरका अधिकांश भाग जलेका छन् । उपचारको अभावमा खुट्टा र हात कुहिएर झर्लाजस्तै भएको छ । रिमा बोल्नै नसक्ने अवस्थामा पुग्नु भएको छ । उहाँको विभत्स शरीर हेर्नै गाह्रो छ ।
रिमाको दाहिने हर प्यारालाइसिसले गालेको छ । त्यो भाग राम्रोसँग चल्दैन । यस्तो अवस्थामा पुग्नु भएकी उहाँलाई हेर्ने कोही आफन्त छैनन् । अहिले सन्तोषराज सापकोटाले उहाँको रेखदेख गरिरहनु भएको छ । सन्तोषसँग रिमाको नाता मानवता मात्र हो । रिमाको परिवार हेटौडा उपमहानगरपालिका– १४ लक्ष्मीचोकमा बस्थ्यो । रिमाबारे अहिलेसम्म प्रहरीको अनुसन्धानमा यसबाहेक थप जानकारी आएको छैन । उहाँले आफ्नै नाम पनि जलेको हातले जबरजस्त लेख्नु भएको छ । एक कक्षामा पढ्ने सिकारु विद्यार्थीले जसरी । र, रिमाले लेख्नु भयो, आफ्नी नौ वर्षीय छोरी भएको कुरा पनि । रिमालाई थाहा छैन, पशुवत व्यवहार गर्ने श्रीमानले छोरीलाई कसरी राखेका छन् ।

रिमा पाँच वर्ष पहिले नै प्यारालाइसिसले ढल्नु भएको थियो । तर, अशक्त रिमालाई श्रीमान् कुमार बलले गत १६ माघमा जिउँदै आगोमा हालिदिए । यो पनि रिमाले कापीमै लेख्नु भयो । यति लेख्न उहाँलाई विश्वयुद्ध जित्न जत्तिकै सकस परेको चिकित्सक बताउँछन् ।
कुमार आफंैले १७ माघमा काठमाडौंस्थित हस्पीटल ल्याइपुर्‍याउनु भयो । त्यसबेला कुमारसँग रिमाकी बहिनी पनि आउनु भएको थियो ।आगोले शीरदेखि पाउसम्म जलेको थियो । तत्काल आइसीयुमा राखेर अपरेशन गर्नुपर्ने अवस्था थियो । त्यसका लागि अस्पतालले कुमारलाई खर्चको बिल थमायो । राजधानी अस्पतालका म्यानेजिङ डाइरेक्टर शरद अधिकारीले भन्नु भयो, ‘हामीले अपरेशनका लागि डेढ लाख रुपैयाँ जति लाग्छ भनेका थियौँ ।’
भोलिपल्ट श्रीमान् पैसा खोज्न हेटौडा जान्छु भन्दै अस्पतालबाट निस्किनु भयो । तर, दुई दिनसम्म फर्किनु भएन । फोन लगाउँदा उहाँले भन्नु हुन्थ्यो, ‘म पैसा लिएर आउँदै छु ।’
तर, उहाँ आउनु भएन् । अर्को दिन फोन गर्दा भन्नु भयो, ‘पैसा लिएर आउँदै थिएँ, कुलेखानीमा हरायो । आउँदै छु ।’
त्यसपछि न श्रीमान आउनु भयो, न उहाँको फोन नै । अहिलेसम्म कुमारको फोन ‘स्वीच्ड अन’ भएको छैन । अधिकारीले भन्नु भयो, ‘उहाँले अस्पतालमा बुझाएको पैसा भनेको पाँच हजार रुपैयाँ मात्र हो ।’
यता रिमाको अवस्था झन्–झन् खराब भइरहेको थियो । उहाँले भोकमा पनि खान पाउनु भएन् । न राम्रो उपचार नै पाउनु भयो । पैसा नै नभएपछि अपरेशन भएन । रिमाको शरीर अस्पतालकै शैय्यामा उपचार कुरेर बसिरह्यो । अधिकारी सुनाउँनुहुन्छ, ‘बहिनीलाई खाना ल्याइदिनुस् भन्दा चामल नै छैन, कहाँबाट पकाएर ल्याउने जस्तो प्रतिक्रिया दिन्थे ।’ सामान्य ड्रेसिङबाहेक उहाँको उपचार हुन सकेन । किनकि यहाँ पैसाले मानवतालाई कल्र्याप कुर्लुप निलेको छ । यतिसम्म कि पैसाले आफ्नी श्रीमतीसमेत चिन्दैन । र, कुनै श्रीमान आफ्नै श्रीमतीलाई जिउँदै जलाउन तयार हुन्छ । श्रीमान हुनुको एउटा तीतो परिणाम भोगिरहनु भएको रिमालाई हेर्ने कोही भएनन् । बेवारिसे रिमाले विभत्स शरीर बोकेर ३५ दिनसम्म जर्जर र बेवारिसे दिन कटाउनु पर्यो ।

अस्पतालले प्रहरी प्रभाग कालिमाटीका डीएसपी रुगमबहादुर कुँवरलाई फोन गर्यो । कुँवरले बिरामीको अवस्था हेरेर उपचारमा समन्वय पनि गर्नु भयो । युट्युव सञ्चालक सन्तोष पनि अस्पतालमा पुग्नु भयो । र, भिडियो बनाउनु भयो । सन्तोष भन्नुहुन्छ, ‘हामी जाँदा शरीर कुहिएको थियो । बेडमा हर पनि नफर्काएकाले सुतेको भाग र हिप काम लाग्ने अवस्थामा थिएन ।’

सन्तोषले उहाँलाई उपचारका लागि सहयोगको आग्रह गर्नु भयो । र, डीएसपी कुँवरले बल्लतल्ल अस्पतालको व्यवस्थापन गर्नु भयो । अनि, रिमालाई सुस्मा मेमोरियल अस्पतालमा पुर्याइयो ।

सन्तोष भन्नुहुन्छ, ‘उपचार नपाएर मान्छेलाई मर्न दिनुहुँदैन भनेर मैले यहाँसम्म ल्याएको हुँ ।’ रिमा सुस्मामा पुगेको दुई दिन मात्र भएको छ । तर, उहाँका नाममा दुई लाखभन्दा बढी खर्च निस्किएको छ । अस्पतालका शरद भन्नुहुन्छ, ‘आफ्नो मान्छे नभएकाले अपरेशन गर्ने कुरा भएन । तर, हामी बिरामीका लागि साढे दुई लाखभन्दा बढी खर्च गरिसकेका छौँ ।’

अस्पतालले औषधीमा करिब चार लाख रुपैयाँ खर्च लाग्ने बताएको छ । अपरेशन, बेड र खाना निःशुल्क गरिएको छ । सन्तोष भन्नुहुन्छ, ‘अहिलेसम्म ५० हजार रुपैयाँमात्र जम्मा भएको छ । सहयोग गरेर रिमा दिदीलाई बचाउनुस् ।’
अस्पतालले आइतबार पहिलोपटक अपरेशन गरेर जलेको भागमा पट्टी बाँधिदिएको छ । ‘शरीरको १२ प्रतिशत भाग जलेको छ । तर, घाउ पुरानो भएकाले दाहिने हातको औंला र जोर्नी नचल्ने भएको छ’, सुस्मा मेमोरियिलका डा। सन्तोषजंग भण्डारीले भन्नु भयो, ‘आज हामीले घाउ सफा गरेर नक्कली छाला हालिदिएका छौँ ।’
यस्तो प्रकारको अपरेशन तीनपटक गरेपछि मात्र छाला प्रत्यारोपण गर्न मिल्ने डा। भण्डारीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘पाँचदेखि छ पटकसम्म अपरेशन गर्नुपर्ने हुन्छ ।’
बेखबर श्रीमानलाई भने प्रहरीले खोजिरहेको प्रहरी प्रभागका कालिमाटीका डीएसपी रुगमबहादुर कुँवरले बताउनु भयो । उहाँले भन्नु भयो, ‘हेटौडाका एसपी साप सुशीलसिंह राठोरलाई जानकारी दिइसकेको छु । अहिले रिमाका श्रीमान घरमा छैनन् भन्ने खबर आएको छ ।’