मकवानपुर जिल्लाबाट ६२ सय १८ जनाले एस.इ.इ. परीक्षा दिने
कुमारी स्याङ्बोहेटौंडाः मकवानपुर जिल्लाबाट यस वर्षको एस.इ.इ. परीक्षा दिने विद्यार्थीको संख्या ६२ सय १८ जना रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार परीक्षा दिनेमा २९ सय ३२ जना छात्र र ३२ सय ८६ जना छात्रा रहेको छ । शिक्षा विकास इकाईको तथ्याङ्कमा गत वर्षको कक्षा ९मा ७ हजार २ सय ६७ जना विद्यार्थीले फारम भरेका थिए । गतवर्ष ९ कक्षामा फारम भरेर वार्षिक परीक्षामा उत्तिर्ण भई कक्षा १० मा पुगेका विद्यार्थीले यसवर्ष एस.इ.इ. दिन पाउने शिक्षा विकास तथा समन्वय समितीका शाखा अधिकृत कृष्ण प्रसाद पौडेलले बताए । मकवानपुर जिल्लामा सामुदायिक विद्यालय ९३ र संस्थागत विद्यालय ३९ गरि कुल १ सय ३२ वटा माध्यमिक विद्यालय रहेको छ ।
शिक्षा विकास इकाईका अनुसार उपमहानगरपालिका भित्र १४ वटा परीक्षा केन्द्र, थाहानगरपालिकाभित्र ३ वटा र गाँउपालिका भित्र ७ वटा गरि जिल्ला भरि २४ वटा परीक्षा केन्द्र रहेको इकाईका शाखा अधिकृत पौडेलले बताए । त्यस्तै गाउँपालिका भित्रका परीक्षा केन्द्रमा मनहरी गाउँपालिका तर्फ २ वटा, बकैया गाउँपालिकामा २ वटा, बागमती गाउँपालिकामा १ वटा, भिमफेदी गाउँपालिका तर्फ १ वटा र इन्द्रसरोवर तर्फ १ वटा रहेको अधिकृत पौडेलले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकामा केन्द्र भई ४ हजार ५७ जना विद्यार्थीहरुले एस.इ.इ. परीक्षा दिने शिक्षा विकास समन्वय समितीले जनाएको छ । प्राविधिक विद्यालयका तर्फबाट एस.इ.इ. परीक्षा दिने विद्यार्थी संख्या १ सय ४६ रहेका छन् । प्राविधिकका लागि परीक्षा केन्द्र सोलिडायरी इ.ए. उ.मा.वी. र मत्स्य नारायण मा.वी पालुङ रहेको जनाइएको छ ।
त्यसैगरि मकवानपुर जिल्ला भित्र ग्रेड वृद्धि परीक्षा ४५ जना विद्यार्थीले दिने भएको छ भने गे्रड वृद्धि परीक्षा केन्द्र अमर माध्यमिक विद्यालयमा रहेको छ । कोरोना भाइरस संक्रमणबाट विद्यार्थीहरुलाई सुरक्षित राख्नको लागि स्वास्थ्य मन्त्रालयको समन्वयमा एस.इ.इ. परीक्षा दिने विद्यार्थीहरुलाई आवश्यकता अनुसार माक्सको व्यवस्था गरेको र महिलाहरुमा देखिने महिनावारीबाट हुने समस्या समाधानको लागि सेनेटरी प्याडको व्यवस्था रहेको अधिकृत पौडेलको भनाई छ । साथै पौडेलका अनुसार शिक्षा मन्त्रालयले परीक्षाका सबै कर्मचारीहरुलाई माक्स वितरण गरेको छ । जिल्ला भित्र रहेको सबै केन्द्रमा सेनेटरी प्याड र माक्सको व्यवस्था रहेको पौडेलले बताए । चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको छ । कोरोना भाइरसको कारण सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईइ) स्थगित गरेको हो ।