म्युजिकल नाइटको सुरुवात हेटौंडाबाट

गुगलपाटी संवाददाता
१२ पुष २०७४ १२:५०

हेटौंडा÷हेटौंडामा पहिलो पटक म्युजिकल नाइट हुने भएको छ । उद्योग बाणिज्य महासंघ सम्बद्ध चलचित्र तथा मनोरञ्जन फोरमले देशमै पहिलो कलाकार जमघट कार्यक्रम हेटौंडामा आयोजना गर्ने भएको हो । महासंघले दैवी प्रकोप राहत उद्धार कोषमा रकम जम्मा गर्ने उदेश्यले पुस २१ गते ‘म्युजिकल नाइट’ आयोजना गर्न लागेको बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जनकारी दिएको छ ।
महासंघकै इतिहासमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना हुन लागेको फोरमका सभापति आकाश अधिकारीले बताए । ‘दैवी प्रकोपको समयमा महासंघले तत्काल खर्च गर्ने गरी कोष जम्मा गर्न ७ वटै प्रदेशमा कार्यक्रम आयोजना गर्ने योजना छ’,उनले भने । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले कलाको क्षेत्रबाट देशलाई एकताबद्ध बनाउन पनि कार्यक्रम आयोजना गर्न लागेको बताए । कार्यक्रममा कलाकारहरु अन्जु पन्त,राजनराज सिवाकोटी,युवराज चौँलागाई,जितु नेपाल,केदार घिमिरे, आकाश अधिकारी,निरुता सिंह,श्वेता खड्का,नीता ढुङ्गाना,यशराज गराच आदिको प्रस्तुती रहने आयोजकले बताएको छ । टैन्सवर्क बियर मुख्य प्रायोजक रहेको कार्यक्रममा सीताराम दुध र राजहंस घिउ र तेल सहप्रायोजक रहेको छ । हेटौंडा रिगल रिसोर्टमा बेलुकी ५ बजेबाट सुरु हुने सांङ्गितीक कार्यक्रमका लागि टिकट मुल्य २५ सय तोकिएको छ ।

पत्रकार सम्मेलनमा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य,राजकुमार न्यौपाने, अरुणराज सुमार्गी चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन लगायतको आतिथ्यता रहेको थियो ।