आन्तरिक मूल्याङ्कनका आधारमा एसइईको प्रमाणपत्र दिन प्याब्सनको आग्रह

गुगलपाटी संवाददाता
२४ बैशाख २०७७ ०७:२७

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कक्षा १० को आन्तरिक मूल्याङ्कनका आधारमा एसइईको प्रमाणपत्र दिन आग्रह गरेको छ । कोरोना भाइरस संक्रमण फैलिरहेकाले परीक्षा लिन सम्भव नभएको जनाउँदै ०७६ का विद्यार्थीका लागि आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणपत्र दिन आग्रह गरेको हो ।

मंगलबार प्याब्सनका अध्यक्ष टीकाराम पुरीले प्रेस विज्ञप्ति जारी गरी विद्यालयले आन्तरिक मूल्याङ्कनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘यस कार्यका लागि कानुनी बाधा अड्चन भए हटाई आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणिकरण गर्न आवश्यक निर्णय गर्नु हुन सरकार समक्ष अनुरोध छ ।’

कोरोना भाइरस संक्रमणको डरले एसइई, कक्षा ११ र १२ को परीक्षा हुन सकेको छैन । यद्यपी शिक्षा मन्त्रालयले स्थगित भएका परीक्षा के गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ । तर, कुनै टुंगो लगाएको छैन ।