सांसद र कर्मचारीसहित ४४१ जनाको कोरोना रिपोर्ट नेगेटिभ
गुगलपाटी संवाददाताकाठमाडौं : संघीय संसदका सांसद र कर्मचारीसहित ४४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार संसद भवन नयाँ बानेश्वरमा गरिएको परीक्षण रिपोर्ट शुक्रबार आएको हो। परीक्षण गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएकव संसद सचिवालयले जनाएको छ। बिहीबार संघीय सांसद र अन्यसहित ४४१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो। बिहीबार १७९ जना प्रतिनिधिसभा सदस्य, ३३ राष्ट्रियसभा सदस्य, २२९ जना कर्मचारी र मर्यादापालकसहित ४४१ जनाको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ । ६३ सांसदको थ्रोट स्वाब संकलन संघीय संसद्को छैटौं अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। बिहीबार र शुक्रबार गरी २७५ सांसदको ‘थ्रोट स्वाब’ को नमूना सङ्कलन गरिएको छ। नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० गरी थप ६३ सांसदको स्वाबको नमूना सङ्कलन गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए। संघीय संसद्को छैटौं अधिवेशन शुक्रबार अपराह्न ४ बजे बस्दैछ। कोरोना परीक्षणका लागि अझै ५४ सांसदको स्वाब लिन बाँकी छ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ जना सांसद रहेका छन्।