भारतबाट एक हप्ता पदैल हिडेर जन्मथलो पुगे १२ जुम्ली

गुगलपाटी संवाददाता
२७ बैशाख २०७७ ०६:५६

 भारतमा अलपत्र परेका जुम्ली एक हप्तासम्म पैदल नै हिडेर भारतबाट आफ्नो घर आइपुगेका छन् । हिमा गाउँपालिका – २ ओदी गाउँका स्थानीय हप्तादिनको पैदल यात्रापछि गृह जिल्ला पुगेका हुन् ।

रोजगारीका लागि १२ जनाको समूह तीन महिनाअघि मजुदुरी गर्न भारतको पिथौरागढ गएका थिए । एक हप्तासम्मको पैदल यात्रापछि उनीहरु जुम्ला आइ पुगेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए ।

१२ जना युवा भारतको पिथौँरागढ हुदै दार्चुलाको झुलाघाट नाका भएर घर पुगेको गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी दिए ।

उनका अनुसार मजदुरीका लागि भारत गएका उनीहरु सीमा पारी २१ दिनसम्म क्वारेन्टाइनमा बसेर आएका हुन् । उनीहरुलाई अहिले गाउँपालिकाको ओदी गाउँमा रहेको विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

वडाध्यक्ष नैनसिंह रोकायका अनुसार भारतबाट आएको थाहा पाउनासाथ परिवारसँग घुलमिल नहुँदै उनीहरुलाई क्वारेन्टाइनमा राखेको जानकारी दिए । पुनः क्वारेन्टाइन बसेको २१ दिन पुगेपछि कोरोना परीक्षण गरेर मात्रै घर पठाउने तयारी गरेको उनले बताए । लकडाउन अवधिमा जुम्लामा १० हजार ७ सय ६५ भित्रिएका छन् ।