अख्तियारमा दुई डिएसपीसहित २० प्रहरीको नयाँ दरबन्दी थप

गुगलपाटी संवाददाता
३० बैशाख २०७७ ०९:३७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरीको दरबन्दी थप भएको छ ।

दुई डिएसपीसहित २० जना प्रहरीको नयाँ दरबन्दी थप गरिएको हो । दरबन्दी थप गर्ने आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षणको रिपोर्ट मन्त्रिपरिषद्को बैठकले गत साता स्वीकृत गरेको छ ।

जसअनुसार आयोगमा दुई डिएसपी, १२ इन्स्पेक्टर, दुई सइ, तीन हवल्दार र एक सिपाहीको दरबन्दी थप भएको हो ।

यससँगै आयोगमा प्रहरीको दरबन्दी तीन सय ३० पुगेको छ । आयोगको जम्मा जनशक्ति करिब नौ सय छ । तुलनात्मक रूपमा प्रहरीको काम बढी चुस्त भएपछि प्रहरी संख्या थपिएको आयोगका एक अधिकारीले बताए ।

कहिले कटौती, कहिले थप
आयोगमा प्रहरी नायब महानिरीक्षक ९डिआइजी० को नेतृत्वमा प्रहरी महाशाखा छ । विगतमा अप्रेसनका काममा बढी प्रहरी खटिनेमा पछिल्लो समय अनुसन्धानमा समेत प्रहरीलाई जिम्मेवारी बढाउँदै लगिएको छ ।

प्रहरीसँग अपराध अनुसन्धानको अनुभव हुने र भ्रष्टाचारको अनुसन्धानमा पनि उनीहरूको अनुभव काम लाग्ने भएकाले प्रहरीलाई अनुसन्धानको जिम्मेवारीमा बढाउँदै लगिएको हो ।

विगतदेखि नै केही प्रहरी अधिकृतलाई काजमा राखेरसमेत आयोगले अनुसन्धानमा खटाउँदै आएको छ । लोकमानसिंह कार्की आयोगको प्रमुख आयुक्त हुँदा प्रहरीको दरबन्दी बढाएर करिब चार सय पुऱ्याएको थियो । उनी हटेसँगै प्रहरीको संख्या घटाइएको थियो । अहिले फेरि बढाइएको छ ।

आवश्यकताअनुसार आयोगमा केही दरबन्दी थपघट गरिएको प्रवक्ता प्रदीप कोइरालाले बताए ।

प्रहरीसँगै निजामतीतर्फ पनि केही प्राविधिक जनशक्तिको दरबन्दी राखिएको र केही कटौती गरिएको उनको भनाइ छ । विकास निर्माणको गुणस्तर परीक्षणका लागि सबै कार्यालयमा इन्जिनियरको जनशक्ति थप गरिएको छ ।

तपाईको प्रतिक्रिया