बागमती प्रदेशले आज बजेट प्रस्तुत गर्दै

गुगलपाटी संवाददाता
१ असार २०७७ ०८:२५

हेटौंडाः बागमती प्रदेश सरकारले आज सोमबार अगामी आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गर्दैछ । आज साँझ ५ बजे बस्ने प्रदेश सभामा बजेट सार्वनजनिक गरिने भएको हो । चालू वर्षको भन्दा नघट्ने गरी बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको छ ।

प्रदेश सरकारले करको दायरा बढाएपनि बजेटको आकार नबढाएर बजेट ल्याउने भएको प्रदेशका अर्थ मन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा कृषि, स्वास्थ्य, शिक्षा र उद्योगलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ । प्रदेश सरकारले आगामी वर्षमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट ल्याउने भएको छ भने गत वर्षको तुलनामा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयको बजेटमा वृद्धि गरेर बजेट सार्वजनिक गर्ने भएको हो । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको भने गत वर्षकै हाराहारीमा करिब ४ अर्बको बजेट प्रस्तुत हुने बुझिएको छ ।

बागमती प्रदेशले आगमी वर्षको बजेटमा कोभिड–१९ ले आक्रान्त बनाएको समयमा सबैभन्दा बढी बजेट स्वास्थ्य आउनुपर्ने प्रदेश सांसद शोभा शाक्यले जानकारी दिनुभयो । नेपाल नरहे नेपाली रहन्न भनेझै स्वस्थ नभए हामी नै नरहने उहाँले बताउनुभयो । त्यस्तै दास्रो नम्बरमा शिक्षामा बजेटले सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । तेस्रो नम्बरमा युवाहरुलाई देशमा परिचालन गर्ने योजनामा बजेट आउनुपर्ने बताउनुभयो । आगामी बर्षको बजेटले गाउँ गाउँमा घरेलु तथा लघु उद्योगहरु सञ्चालन गरेर युवाहरुलाई स्वदेशमा रोजगारी दिनुपर्ने बजेट आउने अपेक्षा गरेको उहाँले बताउनुभयो । सरकारले अहिले भौतिक पूर्वाधारलाई आउने वर्ष प्राथमिकतामा नराखेर स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकताका साथ बजेट प्रस्तुत गर्नुपर्ने सांसद शाक्यले बताउनुभयो ।