मकवानपुर गढी गाँउपालिकामा बसाई सरेर आउनेलाई अनुदान स्वरुप ५० हजार
गुगलपाटी संवाददाताहेटौंडाः मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकामा बसाइ सरेर आउनेलाई कृषि तथा पशु पशुपालनका लागि प्रोत्साहन अनुदान वितरण गरेको छ । नवलपरासीबाट गाउँपालिकामा बसाई सरी आएका ३ जनालाई गाउँपालिकाले सोमबार कृषि तथा पशु प्रोत्साहन अनुदान प्रदान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले प्रोत्साहन अनुदान स्वरुप गाई खरिद गरे वापत ३ जना कृषकहरुलाई प्रतिव्यक्ति ५० हजारको दरले चेक हस्तान्तरण गर्नुभयो । नवलपरासी जिल्लाबाट बसाई सरी आएका अमृता योञ्जन, बारा जिल्लाबाट बसाई सरी आएका रामबहादुर तामाङ् र काभ्रे जिल्लाबाट बसाई सरी आएका प्रेमनाथ दाहाललाई अनुदान उपलब्ध गराइएको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।
गाउँपालिकामा अमृता योञ्जन र रामबहादुर तामाङ वडा नम्बर ४, प्रेमनाथ दाहाल वडा नम्बर ३ मा बस्दै आएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षको कार्यक्रम अनुसार कृषि विकास कार्यक्रम तर्फ अन्य स्थानबाट गाउँपालिकामा बसाई सरेर आएकालाई कृषि तथा पशु क्षेत्रमा लाग्न प्रोत्साहन अनुदान उपलब्ध गराएको हो ।
कृषि तथा पशु प्रोत्साहन अनुदान हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, शाखा प्रमुखहरु, कर्मचारीहरु तथा सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।