शहिद स्मारक टोलका बालबालिकालाई सहजीकरण गर्दै शिक्षकहरु

गुगलपाटी संवाददाता
१९ असार २०७७ ०७:३१

हेटौंडा– डाङडुङेस्थित आनन्द भैरव आधारभुत विद्यालयका शिक्षकहरु सिकाई सहजीकरणका लागि पाँचदिनदेखि विद्यार्थीको घरघरमा पुगेका छन् । टोल–टोलमा पुगेर विद्यार्थी भेला गरेर शिक्षण सिकाईको अभ्यासमा सहजीकरण गरिरहेको विद्यालयका प्रधानाध्यापक कृष्ण खनालले बताउनुभयो । ५ दिनमा अधिकांश विद्यार्थीलाई भेटेर सिकाई सहजीकरण गरिएको उहाँले बताउनुभयो । विद्यार्थीलाई भैरवडाँडा, भैरवकुञ्जटोल, सिमलटार, गोल्फिनटार, दुम्सीडाँडा, मामाघर नेपाल, शहीद स्मारक पुगेर विद्यार्थीको समूहलाई सिकाई सहजीकरण गरिएको उहाँले बताउनुभयो ।

विद्यार्थीलाई भेटेर शिक्षकको समूहले गृहकार्य परीक्षण गरेको, थप गृहकार्य दिइएको, पाठअनुसार थप सिकाईका कुरा गरिएको, विद्यार्थीले नबुझेका कुरामा छलफल गरिएको प्रधानाध्यापक खनालले बताउनुभएको छ । सम्भव भएका सबै शिक्षक सहभागी भएर विद्यार्थीको सिकाईका लागि घरघर पुगेको उहाँले स्पष्ट पार्नुभएको छ । आनन्द भैरव आधारभूत विद्यालयले भौतिक दुरी कायम गरेर नियमित पठनपाठन समेत सुचारु गर्ने प्रयास गरेको थियो । तर, अभिभावक र सामाजिक अगुवाहरुले कोरोना भाइरसको संक्रमणको जोखिम रहने भन्दै विद्यालयलाई पठनपाठन सुचारु गर्ने काममा होसियारी अपनाउन आग्रह गरेसँगै विद्यालयले पठनपाठन रोकेर विद्यार्थीलाई घरघरमै पुगेर समूह समूहमा सिकाई सहजीकरणको कार्य गरिरहेको छ ।