आज पनि ठुलो वर्षातको सम्भावना
गुगलपाटी संवाददातापश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीवारदेखि सक्रिय मनसुन सोमवारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेलले बताए । ‘आगामी सोमवारसम्म यी प्रणालीको प्रभाव रहन्छ । अबको चार दिन सतर्क रहनु पर्छ’, मौसमविद् पोखरेले भने ।
मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिहरेकाले जमिन गली सकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको बताइएको छ । विशेष गरी प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान रहेको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रवार काठमाडौं उपत्यकामा ९ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । त्यस्तै वीरेन्द्रनगरमा २३ दशमलव ५, सिमरामा ११ दशमलव २, नेपालगञ्जमा १० दशमलव ७ र सबैभन्दा धेरै पोखरामा १३६ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । रासस