कोरोना मानव जातीको पहिलो दुख होइन

कुमारी स्याङ्बो
२८ असार २०७७ ०९:३०

आजका आधुनिक मानिसका पुर्खाहरूले बितेको ७० हजार वर्षमा अनेकन महामारी खेप्दै, त्यससँग जुध्दै, बाँचेका केही संख्याले जनसंख्या बढाउँदै र अघि बढ्दै गए । र, हामी आजको समयमा आइपुगेका छौं ।

यो क्रममा मानिसका कैयौं थरी पुर्खाको कुनै समूह नष्ट भएको छ । एउटा वातावरण, हावापानी, परिवेशमा अभ्यस्त समूह एक ठाउँबाट अर्को ठाउँमा पुग्दा त्यहाँको हावा, पानीसँग अन्तर्घुलन हुन नसकेर महामारीको संकटबाट गुज्रिएको छ ।

विशाल संख्यामा आफ्नो समूहका सदस्यको मृत्युको मुल्य चुकाएर केही मानिस उक्त हावा, पानी, वातावरणमा टिक्न सक्ने भएका छन् । एक ठाउँबाट अर्को ठाउँ, एउटा समयबाट अर्को समय, एउटा समूहबाट अर्को समूहको सम्पर्कमा जाँदा बितेका हजारौं हजार वर्षमा हाम्रा पुर्खाहरूले नजाने कति महामारी सामना गर्दै बलै बचेर यहाँसम्म आइपुगेको छ, त्यसको ठीक ठीक हिसाबसमेत आजका हामीसँग छैन ।

प्राचीन फिरन्ते युग र सिकारी युगमा मानवका पुर्खाहरूले के कस्ता सरुवा महामारीको सामना गरेर अघि बढ्यो भन्ने तथ्यहरूको खोजी जारी छ । कैयौं सामूहिक चिहान, सभ्यता विनाशमा अनेकन महामारीहरूको निर्णायक भूमिकाको वास्तविकतामा पुग्न तथ्यहरूको संकलन चली नै रहेको छ । केही प्रमाण फेला परेका पनि छन् ।

फिरन्ते सिकारी युगमा मानिसका पुर्खाहरूले जिन्दगी चलाउने मेसो मिलाउन अनेकन ज्ञात–अज्ञात बोटबिरुवा र जनावरहरूको मासु काँचो या पोलेर खाने क्रममा त्यसबाट उत्पन्न प्रकोपले महामारीको रूप लिँदा कैयौं सिकारी समूह सखाप भएका छन् । रोगको निश्चित कारण र तथ्यहरूबाट अनभिज्ञ मानिसका पुर्खाहरूले तिनै दिनदेखि देवता, सैतान, राक्षस, वायु, जादू, बोक्सी, धामी, झाँक्रीको चेतना आफूमा अभिसारित गराएका हुन् । तन्त्र, मन्त्र, बलि, पूजा, आराधनालाई त्यस्तो प्रकोप, महामारी शान्त गराउने सहारा बनाएका हुन् ।

टर्की, इरानबाट लगभग बाह्र हजार वर्षअघि सुरु भएको मानिने कृषि युगको आरम्भपछि जब मानिस सामूहिक बसाँइको अभ्यासमा अभिसारित भयो, त्यस यता यो जातिले तीव्र रूपले अनेकन प्रलय खेप्यो ।

नेपालका सन्दर्भमा थारू जातिका पुर्खाले जसरी मलेरियाको सानदार सामनाका क्रममा आफ्ना हजारौं–लाखौं सदस्य निखारेर मैदानी भेगलाई आवादी जमिनका रूपमा जोगाए र हस्तान्तरण गरे त्यस्तै उदाहरण संसारभर अनेकन छ । यो बेग्लै कुरा हो कि मलेरियाको सामना गर्ने दिनमा एक्लै परेको थारू जाति आफैंले आवाद गरेको जमिन मलेरिया उन्मूलनपछिका दिनमा त्यही रोगबाटै बच्न भागेकाहरूबाटै खोसिएर भूमिहीन बन्न पुग्यो । मानव जातिले श्रेष्ठताको होडमा यस्तो अन्याय आफ्नै मानव जातिको घेरामा मात्रै सीमित राखेको छैन । दोहन र शोषणको यो लम्बे अभियानमा कैयौं आदिवासी जनावर, चराचुरुंगी, बोटबिरुवासमेत सखाप पारिएका छन् ।

जब मानिसले आफूलाई सभ्य भएको ठान्न थाल्यो, त्यसलाई पुष्टि गर्न ठूला सहर बसायो । एउटा सहरबाट अर्को सहर जोड्न व्यापारिक मार्ग निर्माण गर्न थाल्यो । सँगै, तिनै मार्गमा भएको आवागमनको अडेस लागेर अनेकन रोगहरू, महामारीहरू भित्रिन थाले । एउटा निश्चित हावापानी, वातावरण र त्यहाँको प्रकोपमा अभ्यस्त मानव शरीरको प्रतिरोध क्षमताले नयाँ हावापानी, वातावरणमा हुर्किएको रोगको कीटाणुसँग लड्न, जुध्न र सामना गर्न नसकेर मानवको विशाल जाति सखाप भयो । त्यस्तो महामारीको अनेकन मानव सभ्यता र शासनसत्ताहरूको जगै हल्लाइदिएको छ । नयाँ स्थानबाट गएकाहरूद्वारा पुरानो स्थानका आदिवासीहरू नै कसरी सखाप पारिए भन्ने विवरण यथाक्रममा उल्लेख हुने नै छ ।

प्रकृति र परम्पराको दोहन, शोषण र विनाशको जगमा आधुनिक मानव सभ्यताको आधार अडिएको तथ्य हामीले भुल्नु हुँदैन । जसको मूल््य कुनै न कुनै रूपमा मानव जातिले चुकाउनुको विकल्प छैन । त्यसैको उत्कर्षमा संकटको अनेकन निलडाम आजको मानव समाजको टाउको माथि बजारिएको छ । तारन्तार अनेकन महामारीको स्वरूपमा । जस्तो आजै मानव समाजले ‘कोभिड–१९’ भनिने संक्रामक कोरोना महामारीको विश्वव्यापी सामना गरिरहेको छ । तर, आजको दिनमा मानव जातिले व्यहोरि रहेको यो दुःख न त मानव जातिको इतिहासको पहिलो हो न अन्तिम । न यो इतिहासको पहिलो ठूलो दुःख हो न अन्तिम ।

नेपालजस्ता देशले भने तीन महिना भन्दा लामो समय कोरोना संकमणबाट बच्ने उपायमा लगाउन पाए पनि सत्तासीनहरूका लाचारी र गैरजिम्मेवार भूमिकाका कारण आज चिकित्सकहरू आधारभूत सुरक्षा सामग्री र रोग निक्र्योल गर्ने किटको अभावमा तड्पिनुपर्ने दुःखद अवस्था आइलागेको छ । कहिले देशलाई ‘कोरोना फ्री देश नेपाल, सबै विदेशी घुम्न आऊ’ भन्ने स्तरको घृणित ठट्टामा लपेट्ने त कहिले स्तरहीन दुर्वचनहरूले सरोकार उजागर गर्नेलाई लाञ्छित गर्ने बहुलट्ठीपूर्ण दुर्मुखा प्रवृत्ति सत्ताधारीले देखाउँदा नेपालमा युरोपेली देशहरूकै स्तरमा कोरोना संक्रमण फैलिए के हालत होला भनेर तर्सनुपर्ने अवस्थामा छ ।
आजै पनि युद्धस्तरमा तयारी संकेन्द्रित गरेर चिकित्सकीय सामग्री जुटाउने, दैनिक ज्याला मजदुरी गरेर जीविका निर्वाह गर्ने श्रमजीवीहरूलाई भरथेग गर्ने योजना बनाउने, घरघरमा रोगभन्दा पहिले भोक छिर्न नदिन उपभोग्य सामग्रीको व्यवस्थापन गर्ने, विश्वव्यापी महामारीले अर्थव्यवस्था ध्वस्त हुन नदिनेजस्ता उपाय अवलम्वन गर्ने बाटोमा अभिसारित नभए सत्ताधारीसँग अभाव, नियन्त्रण, भोकमरी, उपचारहीनताले छटपटिने भोका जनताको प्रतिरोधबाट बढारिने घडीको प्रतीक्षा सबैभन्दा सहज विकल्प हुनेछ ।

देशका अस्पतालहरू चिकित्सकीय सुरक्षाका लागि आवश्यक सामग्रीको प्रबन्धका लागि समेत महावीर पुनहरूलाई गुहार्न अभिसप्त छन् । ‘समाजवादी’ हरूबाट संरक्षित व्यापारिक घराना ‘यति’ हरूले संकटको दिनमा नागरिकलाई प्रताडित गर्न तिनका हवाई मूल्य यही बेला बढाएर तिनको खास चरित्र प्रकट गरेका छन् र समाजवादीहरूले कसका लागि राज्य लुटाइरहेका छन्, खुलस्त हुने अवसर दिएका छन् ।

गुणस्तरीय र उच्चस्तरीय सेवा दिने विज्ञापन बजाएर नाफा कुम्ल्याउने होडबाजी गरेका नेपाली निजी अस्पतालहरूले कोरोना संक्रमणमा परेका बिरामी उपचार गर्न असमर्थता देखाएर आफ्नो असली हैसियत प्रस्ट देखाएका छन् । अयोग्य, बेकामे भनेर लाञ्छित गरिएका सार्वजनिक सरकारी अस्पताल र चिकित्सकहरू संक्रामक महामारीको सामना केन्द्रको रूपमा सानदार ढंगले उभिएका छन् र सही समयमा नाफाखोरहरूको युद्धलाई नांगेझार पारेका छन् । अनेकन पदका लागि गुट र सार्वजनिक भेला, भाषण गर्दै हिँड्नेहरू संकटको खास दिनमा संकटको नेतृत्व गर्ने सार्वजनिक मञ्चबाट जसरी बेपत्ता भएका छन् त्यसले नेपाली समाजसँग मौजुद सही नेतृत्व अभावको प्रस्ट तस्बिर देखिएको छ ।

कोरोना महामारीको आँधी थामिएपछि बाँकी विश्व त बदलिने नै छ । तर यो संकटको समयमा नेपाली जनतालाई लाचारी, अभाव, अव्यवस्था दिने सरकारी, गैरसरकारी, निजी संघसंस्था, संगठन, राजनीतिको ठीक–ठीक मूल्यांकन र हिसाब नउतारेर नेपाली समाज भने फेरि पनि बाँकी विश्वको गतिशील परिवर्तनबाट पछाडि छुटिरहनेछ ।