हेटौंडामा साउनको रमझम, हरियो चुरा पोते र मेहन्दीको

गुगलपाटी संवाददाता
३ श्रावण २०७७ ०२:५९

 कुमारी स्याङबो

नारीहरुका लागि बिशेष महिना साउन शुरु भएलगतैै कस्मेटिक पसल तथा चुरा पसलहरुमा मेहेन्दी, हरियो पहेलो चुरा लगाउनेको भिड बढेको छ ।
हरियो चुरा लगाउनुका धार्मिक एवंम् संस्कृतिका महत्व थाहा नभएकाहरु समेतको बाक्लो भिड लागेको छ । अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने नारीहरु प्राय त्यही चिजमा झुमिन्छन । त्यसैलाई मध्यनजर गर्दै साउन महिना शुरुभए लगतै विगत जस्तै यसपाली पनि हेटौंडा सहित देभैभरका चुरा पसलहरु हरिया चुरा र पोतेले भरी भराउ देखिएका छन् ।
हेटौंडा १० आनन्दटोलमा मन्जु पहाडीेले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाएको छ । आनन्दटोलकी आस्था मगर र जसी स्याङतानले चुरासँगै हातमा मेहन्दी लगाएर सजिएका छन् ।

यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ । साउन लागेलगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमङ्ग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढ्दो छ ।

धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेसनका रूपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएकाले साउनका सबै दिनलाई उत्तिकै महत्वका रूपमा लिइन्छ । हेटौंडा बजारको एक चुरा पसलमा भेटिएकी कामनाले हरियो चुरा लगाउँदा यही हुन्छ भन्ने थाहा नभएको बताउनुभयो । आफ्नो नाडीको चुरा खेलाउँदै उहाँले खै साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन्, मैले पनि लगाएँ भने ।
उनले हरियो चुरा लगाउँदा जीवनमा हरियाली छाउने विश्वास रहेको बताए । कतिपयले हरियो चुरा लगाइसकेपछि चुकाउनु या फुटाउनु हुँदैन भनेर यो महिनाभर होसियारी अपनाउने गर्दछन् । कहिल्यै हरियो चुरा नलगाउने युवतीले समेत चुरा लगाएर बजाउँदै हिँड्दा खुब सुहाएको र रमाइलो लागेको बताएका छन् । नारीमा यो महिना चुरा लगाउने सोख र होड चलेपछि चुरा पसले पनि मख्ख छन् । हेटौंडा बजारका फेन्सी एन्ड होससेल पसलमा साउनलाई मध्य नजर गर्दै असारदेखि नै हरियो चुराको बिक्री बढेको बताए ।
साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवम् कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई शौभाग्यको एवम् पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ । यसकारण पनि साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको संस्कृतिविद् बताउँछन् । चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रङ राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । मेहन्दी लगाउने चलन चाहिँ छिमेकी देश भारतबाट भित्रिएको बताइन्छ ।
बजारमा कस्मेटिक पसल तथा चुरा पसलहरुमा मेहेन्दी, हरियो पहेलो चुरा लगाउनेको भिड बढेको छ ।
हरियो चुरा लगाउनुका धार्मिक एवम् संस्कृतिका महत्व थाहा नभएकाहरु समेतको बाक्लो भिड लागेको छ । अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने नारीहरु प्राय त्यही चिजमा झुमिन्छन ।
चुरा पसलहरुमा मात्र नभई फुटपाथ, मन्दिर प्रांगणमा समेत चुरा मेहन्दी बेच्न राखिएको देख्न सकिन्छ । हेटौंडाको मुख्य व्यापारिक स्कुलरोड, बुद्धचोक, टेम्पोपार्क सडक किनारादेखि पार्लरसम्म चुरा र मेहेन्दी लाउनेको घुँइचो लागेको छ । यसले होलसेल तथा खुद्रा व्यापारमा हरियो चुराको माग बढेका छन् ।
खुद्रा बजारमा माग बढेपछि होलसेल व्यापारीलाई पनि भ्याइ नभ्याइ छ । टेम्पो पार्कका कस्मेटिक र चुरा होलसेलका संचालक नम्रता स्याङतान भन्छन्, ‘अहिले त चुरा र मेहन्दीको बाढी नै आए जस्तो भएको छ । धेरै माग आएको छ ।’
५ रुपैयाँदेखी ५ हजार सम्मका चुरा कस्मेटिक पसल खोेलेर बसेकी अन्जना केसीलाई अहिले बिहानदेखि बेलुकीसम्मै फुर्सद छैन । सामान्य रुपमा बजारमा काँचका ४० रुपैयाँ प्रतिदर्जन र मेटलका चुरा १ सयदेखि ५ सय सम्मका चुराहरुको माग बढेको उनी बताउछिन् । उनी भन्छिन–‘साउन महिना त चुरा व्यापारीलाई तिहार जत्तिकै हुन्छ, महिलाहरुको भिड नै लाग्छ । आज सामान ल्यायो भोली सकिन्छ । दिनमा सयौं दर्जनभन्दा बढी चुरा बिक्री भइरहेको छ ।’ बजारमा ५ रुपैयाँ देखी ५ हजार सम्मका चुरा किन्न पाईन्छन् । मेटलका चुराहरु दर्जनको हिसावले भन्दा पनि सेटका हिसावमा बिक्री हुन्छन् ।
त्यस्तै हेटौंडा १० आनन्दटोलमा रहेको व्यूटि पार्लर संचालन गरेर बसेकी सिर्जना मुक्तानलाई पनि यो महिना फुर्सदै हुदैन । अरु बेला चुरा नबेच्ने गरेको भएपनि साउनमा भने पार्लरमा पनि कस्मेटिक सामान र चुरा विक्रीका लागि राख्ने गरेको बताउंछिन् । पार्लरमा मेहन्दी लगाईदिने र चुरा बेच्ने काममै उनी दिनभर व्यस्त रहने बताउँछिन् । साउनमा हरियो चुराका साथमा रातो र पहेँलो चुरा मात्र भएर पोते, मेहेन्दीहरुको पनि प्रशस्त माग भएको व्यापारीहरु बताउँछन । रातो, पहेँलो, हरियो रंग मिसिएका पोतेहरु र अन्य कस्मेटिकका सामान विशेषगरी किन्न आउने व्यापारीहरुको भनाई छ । फेसनसंगै महंगो चुरा गत वर्षको तुलनामा यो वर्ष चुराको मुल्यमा दोब्बर वृद्धि भएको छ । गत वर्ष ३० रुपैयाँ प्रतिदर्जन पर्ने काँचको चुरा यो वर्ष ५० र ६० रुपैयाँमा बेचेको व्यापारीहरु बताउँछन । नेपालमा चुरा, पोते र मेहेन्दी विशेषगरी भारतबाट ल्याउने गरेको व्यापारीहरु बताउँछन । सामान्य अवस्थामा चुराको माग ठिकै भएपनि साउन, तीज र दशैंका बेला अत्याधिक हुने गरेको छ ।