कतारबाट ३०३ नेपाली स्वदेश फर्के

गुगलपाटी संवाददाता
३ श्रावण २०७७ ११:१०

अनिल पराजुली, कतार । कतारको दोहाबाट काठमाडौंको लागि शनिवार दुई उडान मार्फत ३ सय ३ जना नेपालीहरू स्वदेश फर्केका छन् । नेपाल एयरलाइन्सको उडान मार्फत १ सय ४९ र हिमालय एयरलाइन्सको उडानबाट १ सय ५४ जना नेपालीहरु स्वदेश फर्केका हुन् ।

नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको चौधौं उडान मार्फत नेपाल एयरलाइन्सको आरए २३९२ उडानबाट १० महिला सहित १ सय ३९ पुरुष र हिमालय एयरलाइन्सको एच नाइन ५६३२ उडानबाट २ महिला सहित १ सय ५२ पुरुष स्वदेश फर्केका हुन् । नेपाल एयरलाइन्सको उडानबाट कोविड–१९ को समयमा मृत्यु भएका दुई जना नेपालीको शव पनि नेपाल पठाइएको दूतावासले जानकारी दिएको छ ।

कतारको दोहा स्थित हमाद अन्र्तराष्ट्रिय विमान स्थलबाट दूतावासको प्राथमिकतामा परेका, दीर्घरोगी, रोजगारी गुमाएका, स्वदेश फर्कनै पर्ने र आम माफी पाएका नेपालीहरुलाई स्वदेश पठाइएको थियो । उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नका लागि दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।

कतारबाट कोभिड–१९ पश्चात करिव तीन हजार नेपाली स्वदेश फर्किसकेका छन् भने लकडाउन पश्चता कोभिडको समयमा मृत्यु भएका ३८ जना नेपालीको शव नेपाल पठाइएको छ । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।

तपाईको प्रतिक्रिया