वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य
गुगलपाटी संवाददातावाग्मती प्रदेशसभाको वर्षे अधिवेशन बिहीबार मध्यरातिदेखि अन्त्य हुने भएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले प्रदेश प्रमुख विष्णु प्रसाईंसमक्ष बजेट अधिवशेन अन्त्य गर्न सिफारिस गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बजेट अधिवेशन आह्वान र अन्त्य गर्ने अधिकार प्रदेश प्रमुखलाई दिइएको छ । प्रदेशसभा सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै प्रदेशसभाको छैठौं अधिवेशन अन्त्य भएको जानकारी दिएका छन् ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी विनोद अमात्यले भने, ‘प्रदेश प्रमुखबाट अधिवेशन अन्त्य भएको पत्र प्राप्त भइसकेको छ । हामीले सोहीअनुसार प्रक्रिया पूरा गरी सूचना जारी गरेका छौं ।’ जेठ १२ गतेबाट सुरु भएको अधिवेशनले वाग्मती प्रदेशको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो । कोरोना महामारीकाबीच सञ्चालन भएको बैठकले ९ वटा विधेयकहरु पारित गर्यो । त्यस्तै महत्वपूर्ण ऐनको रुपमा हेरिएको प्रदेश प्रहरी सम्बन्धी ऐन तयार गरेको वाग्मती प्रदेशसभाले २ वटा अध्यादेशहरु पनि पारित गरेको छ ।
यसैगरी प्रदेशसभाले आर्थिक ऐन, विनियोजन ऐन, प्रदेश सूचनाको हक सम्बन्धी ऐन, अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा र व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेश सरकारले अध्यादेशबाट आएको आर्थिक कार्यविधि ऐन संशोधन गर्न बनेको विधेयक पनि पारित भएको छ ।
प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने विचाराधीन अवस्थामा रहेको सूचना अधिकारी अमात्यले जानकारी दिए ।
प्रतिपक्षी कांग्रेसको आपत्ति
वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी कांग्रेसले एक्कासी अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाएको छ । संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विपक्षी दलहरु र सभामुखसँग समन्वय र छलफल नै नगरी सरकारले एक्कासी प्रदेशसभा बैठक अन्त्य गरेको भन्दै आपत्ति जनाएका हुन् ।
‘हामीसँग कुनै छलफल भएको छैन । यसअघि पनि सरकारले यसैगरी अधिवेशन अन्त्य गरेको थियो ।’, उनले सत्तारुढ दलभित्र समस्या भएका कारण सदन छलेर अधिवेशन अन्त्यको निर्णय गर्नु गलत भएको बताए । यो समाचार हामिले इकान्तिपुरबाट साभार गरेका हौं ।