नेपालमा कोरोनाबाट थप एकको मृत्यु,मृतकको संख्या ४५ पुग्यो
गुगलपाटी संवाददातानेपालमा कोरोना भाइरसको संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बाराको परवानीपुर गाउँपालिका वडा नंबर ८ की १७ वर्षीया किशोरीको शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।
बुधबार स्वास्थ्यमा समस्या आएपछि विरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडिटी पोेजेटिभ देखिएको थियो ।
त्यस लगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ गते स्वाब संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो । किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पाखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा गौतमले बताए ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
यसैगरि आज थप १ सय ९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना संक्रमित संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ । यसैगरि आज कोरोना निको भएर १ सय ६ जना घर फर्किएका छन् । योसंगै कोरोना निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ।