मकवानपुरका एकजनामा कोरोना पुष्टि

गुगलपाटी संवाददाता
१५ श्रावण २०७७ ०४:४१

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ माझगाउँका थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मकवानपुरमा पनि दिनहुँजसो कोरोना पुष्टि हुनेक्रम वढेको छ ।

अझै तराइका बारा, पर्षा, रौतहट लगायतका जिल्लामा कोरोना भाइरसका बिरामी धेरै देख्न थालेपछी मकवानपुरमा झनै कोरोनाको जोखिम वढ्ने देखिएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बागमतीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको आइसोलेसनका इन्चार्ज तथा स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो । ९ दिनअघि साउदीअरबबाट आएका उनी बागमती गाउँपालिकास्थित जनता माविको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

सक्रमित पुरुषको अवस्था सामान्य रहेको छ । बुधबार हेटौंडास्थित आइसोलेशनबाट ३४ जनाको स्वाब संकलन गरी उक्त प्रयोगशालामा पठाइएकोमा १ जनाको रिपोर्ट कोरोना पोजेटिभ, ३१ जनाको नेगेटिभ आएको हो । दुई जनाको स्वाब भने परीक्षण हुँदैछ ।

योसँगै मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमित व्यक्तिको संख्या ४७ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म २४ जना संक्रमण मुक्त भई डिस्चार्ज भइसकेका छन् ।