हेटौंडा सामुदायिक आखाँ अस्पतालमा १७ जनाले गरे आखाँ दान
गुगलपाटी संवाददाताकुमारी स्याङ्बो
हेटौंडाः हेटौंडा सामुदायिक आखाँ अस्पतालको परिसरमा दुई वर्षको अवधिमा १७ जनाले आखाँ दान गरेका छन् । उक्त केन्द्रले धेरै जनाको आखाँको नानी संकलन गरिसकेको छ । हेटौंडा सामुदायिक आखाँ अस्पतालमा पहिलोपटक हेटौंडा उपमहानगरपालिका ४ खोपेगल्लीका रामकृष्ण श्रेष्ठको नानी संकलन गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिका १० स्थित टीसीएनमा रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालले लकडाउन खुले संगै दैनिक २०÷३० जना आँखाका बिरामीलाई सेवा दिइरहेको छ । एक दशकअघि नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको शाखाको रूपमा उक्त अस्पतालको स्थापना गरिएको थियो ।
दुई वर्षको बीचमा अस्पतालले ४ हजार जनाको आँखा परीक्षण गरेको छ भने यो अवधिमा १२ सय ७३ जनाको आँखाको शल्यक्रिया गरेको छ । सबैभन्दा बढी लगभग २ हजार जना मोतियाबिन्दुका रोगीहरूको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । एक बिघा एक कठ्ठा जमिनमा फैलिएको उक्त अस्पताल २०६५ मंसिर ५ गते स्थापना भएको हो । बर्सेनि करिब ३ हजार जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गर्ने गरेको छ । उक्त आँखा अस्पतालमा आँखाको उपचारका निम्ति स्वदेशी मात्र होइनन्, भारतीय नागरिकहरू पनि आउने गर्छन् ।
‘अस्पतालले आँखाको बिरामीको मन जितेको छ, अब हाम्रो चुनौती भनेको हालसम्मको उपलब्धिलाई जोगाउन र नयाँ उपकरण थप्दै सम्पूर्ण आँखा रोगीको उपचार हेटौंडामा हुने व्यवस्था मिलाउनु नै हो, हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले भने, ‘अस्पतालका डाक्टर, नेत्र सहायक, कर्मचारीको अथक मिहिनेतका कारण आँखाको उपचारका लागि हेटौंडा नयाँ गन्तव्यको रूपमा अगाडि बढिरहेको छ ।’
हेटौंडामा आँखा परीक्षणका लागि मकवानपुरसहित बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र भारतका बासिन्दासमेत आउने गरेको उनले बताए । आँखाका बिरामीहरू खोज्दै अस्पतालले मकवानपुर बाहेक अन्य जिल्लामा समेत आँखाको निस्शुल्क परीक्षण शिविर सञ्चालन गर्दै आएको छ । वर्षमा करिब ३५ वटाभन्दा बढी आँखाको निस्शुल्क परीक्षण शिविर संचालन गर्ने गरेको छ । शिविरमा फेला परेका मोतियाबिन्दुका रोगीहरूलाई अस्पतालमा ल्याएर निशुल्क रूपमा शल्यक्रिया गर्ने गरेको छ । मकवानपुर बाहेक विभिन्न जिल्लामा आँखाको शिविर सञ्चालन गरेकाले अस्पतालमा बिरामीको चाप बढेको हो ।
तिनजना नेत्ररोग विशेषज्ञ डाक्टरहरु अस्पतालमा कार्यरत छन् । अस्पतालमा आँखा परीक्षण गराउन आएका बिरामीसँग नयाँसँग दर्ता शुल्क ९० रुपैयाँ र पुरानोसँग ७० रुपैयाँ मात्र दर्ता लिने गरेको छ ।
‘दर्ता शुल्कबाहेक अन्य रकम अस्पतालले लिँदैन । राजधानीबाहिर रहेका अन्य अस्पतालभन्दा सस्तो र गुणस्तरीय सेवा दिनुको साथै सफा सुग्घर भएकाले बिरामीहरूको चाप बढेको हो,’ प्रशासकीय अधिकृत श्रेष्ठले भने ।
अस्पतालमा नेत्र रोग विशेषज्ञ ३ जना चिकित्सक कार्यरत रहेकाले पछिल्लो समय आँखा रोगीहरूका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्दै गएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकासहित ८ वटै गाउँपालिकामा पुगेर अस्पतालले निस्शुल्क आँखा शिविर सञ्चालन गरिसकेको छ । अस्पतालमा मोतियाबिन्दुका रोगी र आँखा चिलाउने एवं बिझाउने रोगका बिरामीहरू बढी आउने गरेका छन् ।
सुगर रोगीहरूको पनि आँखाको राम्रोसँग परीक्षण गर्न उपकरण पनि रहेको छ । अस्पतालले आँखा जाँच, शल्ययक्रिया एवं आँखा स्वास्थ्यसम्बन्धी जनचेतना तथा शिक्षक शिक्षिका, स्वास्थ्य स्वंसेविका र धामी धाँक्रीहरूलाई चेतनामूलक तालिन प्रदान गर्दै आएको छ । ‘तिलगंगा आँखा केन्द्रको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेत्र रोग विशेषज्ञहरू एवं नेत्र सहायकहरूलाई तालिम प्रदान गर्दै आएका छौं,’ प्रशासकीय अधिकृत श्रेष्ठले भने ।