सांसद यादवलाई कोरोना पुष्टि भएपछि सिन्धुली वन कार्यालय सिल

गुगलपाटी संवाददाता
१७ श्रावण २०७७ ०९:१०

वैज्ञानिक वन छानबिन अनुगमन उपसमितिका संयोजकलाई कोरोना भाइरसको पुष्टि भएपछि डिभिजन वन कार्यालय सिन्धुली सिल गरी सबै सेवाहरु बन्द गरिएको छ ।

वनको अवस्था बुझ्न सिन्धुली आएका उपसमितिका संयोजक एवं संघीय सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाले सबै सेवाहरु बन्द गरिएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ । नारायणी अस्पताल वीरगन्जमा शुक्रबार गरिएको परीक्षणबाट सांसद यादवमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

उपसमिति संयोजक यादवसहित आएको अनुगमन छानबिन टोलीले गत बुधबार वन कार्यालय, उपभोक्ता समितिका पदाधिकारीहरु, कार्यालय प्रमुख, एवं सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । डिभिजन वन कार्यालयले सूचना जारी गरेर शनिबारदेखि लागू हुनेगरी कार्यालयबाट उपलब्ध हुने सबै किसिमका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ ।

सूचनामा भनिएको छ, ‘अन्तरक्रिया कार्यक्रममा आएका सांसद यादव, कार्यालय प्रमुख तथा अन्य सरोकारवालाहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेकाले सेवाग्राही तथा अन्य महानुभावहरुलाई संक्रमण हुने सम्भावना भएकाले सेवा बन्द गरिएको छ ।’ कार्यालयका अनुसार अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेहरुको कन्ट्याक्ट टे«सिङ गर्ने काम भएको छ भने पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न अनुरोध गरिएको छ ।

उपसमिति संयोजकको टोलीका चालकलगाएयत अन्यलाई समेत कोरोना भाइरस पुष्टि भएकाले सिन्धुलीमा समेत प्रत्यक्ष सम्पर्कमा रहेकाहरुमा कोरोना संक्रमण आशंका गरिएको छ । डिभिजन वन कार्यालय प्रमुख नारायणकुमार श्रेष्ठले समुदायमा संक्रमण फैलन नदिन कन्ट्याक्ट ट्रेसिङ थालिएको बताए ।