हारको समिक्षा गर्न काँग्रेस कार्य सम्पादन समितिको बैठक

गुगलपाटी संवाददाता
१४ पुष २०७४ ०५:५२

काठमाडौं । निर्वाचनमा नराम्ररी पराजित कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचमा हार ब्यहोरेको काँग्रेसले पहिलो पटक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।
प्रधानमन्त्री निवास वालुवाटारमा कांग्रेसको २९ सदस्यीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक सूचीका साथै आगामी केन्द्रीय कार्यसमिति बैठकबारे समेत छलफल गर्नेछ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडैलसँग छलफल गरेपछि शुक्रबार बैठक बोलाएका थिए। निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिक सूचीबाट विजेता उम्मेदवारको सूची पठाउन दलहरूलाई पत्र पठाएपछि कांग्रेस सभापति देउवाले समितिको बैठक बोलाएको कांग्रेस नेताहरूले बताएका छन्। बैठकमा घनिभुत छलफल भइरहेको छ ।
निर्वाचनमा पार्टीको लज्जास्पद पराजयसँगै कांग्रेसभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउनेदेखि विशेष महाधिवेशन गर्नुपर्नेसम्मका आवाज उठिरहेका छन्। सभापति देउवा प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको सूची टुंगो लगाइसकेपछि केन्द्रीय कार्यसमिति बैठक बोलाउने मनस्थितिमा रहेको कांग्रेस नेताहरूले बताएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा कांग्रेसले प्रत्यक्षतर्फका १ सय ६५ सिट मध्ये २३ सिट मात्र जितेको छ। कांग्रेसको कार्यसम्पादन समितिमा रहेका अधिकांश नेताहरू चुनावमा पराजित भएका छन् ।