भिमफेदीमा रहेको बालगृहले भित्रै बसेर अध्ययनलाई निरन्तरता दिँदै
गुगलपाटी संवाददाताहेटौँडाः कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न सरकारले गरेको बन्दाबन्दीका कारण बालबालिका परीक्षा दिनमात्र होइन पढाईलाई निरन्तरता दिने अवसरबाटसमेत वञ्चित भएको छ ।
कोरोनाको कहरका कारण अधिकांश बालबालिका परीक्षा दिने र पढाइलाई निरन्तरता दिनबाट वञ्चित भएकै बेला मकवानपुरको पूर्व सदमुकाम भीमफेदीस्थित बालगृहका बालबालिकाहरुले बालगृहभित्रै बसेर सिकाइलाई निरन्तरता दिइरहेका छन् ।
समुहमा बस्दै आएका बालबालिकाले बन्दाबन्दीको समयमा पढाइलाई निरन्तरतासँगै एक–अर्काले सहयोग र अनुभवको आदानप्रदान गरेर लाभ उठाएका हुन् ।
बालगृहमा परिवारका अभिभावक गुमाएका ५ देखि १६ वर्ष उमेरका अनाथ र विपन्न ३३ जनाले आश्रय पाउँदै आएका छन् । उनीहरुलाई स्थानीय निजी विद्यालयमा कक्षा ७ सम्म र सार्वजनिक विद्यालयमा कक्षा ९ र १० सम्मको अध्ययनको व्यवस्था मिलाइएको छ ।
बालगृहमा बस्दै आएकी पूर्णिमा सिंह जस्तै अन्य बालबालिकाको पढाइ बन्दाबन्दीको समयमा पनि रोकिएन । बन्दाबन्दीमा पनि पढाइ रोकिएन बालगृहका सरहरु, दाइहरुले पढाउनु हुन्छ, विहान ११ वजेबाट १ वजेसम्म पढ्ने गरेको सिंहले बताउनुभयो । कक्षाअनुसार छ वटा समुह बनाएर बालगृहका शिक्षकले ठूला कक्षाकालाई पढाउने र साना कक्षाकालाई ठूला कक्षामा पढाउन सहयोग गर्दै आएका छन् ।
बालगृहका सुशील थापा मगर आफूहरुले साना कक्षाका भाइबहिनीलाई सिकाउने र आफूहरुलाई आउने विषय बालगृहका शिक्षकबाट सिक्दै आएको बताउनुहुन्छ । थापा मगर भन्नुहुन्छ, बन्दाबन्दीका कारण विद्यालय पढ्न जान नपाएपनि आफूहरुको नियमति पढाइमा बाधा पुगेको छैन ।
कोरोनाका कारण गरिएको बन्दाबन्दीको समयमा विद्यालय जान नपाएपनि न त उनीहरुलाई पढ्नबाट रोक्यो, न त आफू बस्ने ठाउँको सरसफाइ अनि बालगृह परिसरमा रहेको जग्गामा तरकारी खेती गर्न । बालगृह परिसरमा रहेको जग्गा आएको झार उखेल्ने, तरकारी लगाउने र गोडमेलसम्ममा लागेका उनीहरु बिहान सबेरैदेखि बेलुकासम्म बन्दाबन्दीको अवधिमा समय तालिका बनाएर व्यस्त रहन्थे । बालगृहका संयोजक सुरेन्द्र सापकोटाले बालकालिकाका लागि बिहान–बेलुकाको खाना र दिउँसोको खाजासँगैमा पढ्ने, पढाउन, खेल्ने र बारीमा काम गर्ने समय तालिका बनाएर बन्दाबन्दीलाई सदुपयोग गरिएको बताउनुभयो । उहाँले बालबालिकालाई बन्दाबन्दीको अवधिमा दैनिक जीवनमा प्रयोगमा आउने कामसँगै बालगृहको जीवन सकिएपछि काम आउने सीप सिकाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, भविष्यलाईसमेत काम लागोस् भनेर बालबालिकालाई सीपमूलक ज्ञान प्रदान गरिएको हो । बारीमा उत्पादन गरेको तरकारीले दैनिक खानलाई गर्जो टरेको मात्र होइन यो पटक बन्दा उत्पादन गरी धेरै भएर एक क्विण्टल बिक्रीसमेत गरिएको छ ।
बालिका मनिषा सार्की बन्दाबन्दीको सदुपयोग गर्दै पढाइसँगै बारीको काममा व्यस्त भएको बताउँदै काक्रो, बन्दा, काउली, गोलभेँडा, भण्टालगायतका तरकारी लगाइएको बताउनुहुन्छ ।
यस्तै बालगृहमा बसेर कक्षा १० मा अध्ययनरत रामराज शाहीले आफूले साना भाइ बहिनीलाई नेपाली र अङ्ग्रेजी पढाउन सहजीकरण गर्दै आएको भन्दै पढाईपछि बन्दाबन्दीको समयमा नै परीक्षासमेत लिएको बताउनुभयो ।
बालबालिकाका लागि उनीहरुलाई बारीको कामसँगै नियमित रुपमा कम्प्युटर कक्षा र नृत्य कक्षा सञ्चालनलगायतका व्यवहारिक ज्ञान प्रदान गरिँदै आएको छ ।
बन्दाबन्दीको समयमा उनीहरु बालगृहमा नै रमाउँदै आएका छन् । बालगृहकी बालिका सरिता तामाङ विहान उठेर बालगृहको सरसफाइमा सहयोग, बारीको काम, पढाइपछि दिउँसो खेलकुदमा लाग्ने गरेको बताउनुहुन्छ ।
बालगृहका तीन जनाको गत वर्ष माध्यामिक शिक्षा परीक्षा (एसईई) रोकिएको थियो भने यो वर्ष दुई जनाले एसईई दिने भएका छन् । नेपाल बाल सङ्गठनले एसईई पूरा भएकालाई बालगृह बाहिर कक्षा ११ र १२ मा पढाइसँगै खाने, बस्ने र सीममूलक तालिममा सहयोग गर्दै आएको छ ।
बसोबास नेपाल बाल सङ्गठनद्वारा सञ्चालित बालगृहमा आश्रित बालबालिकाका लागि स्पेनको बार्सिलोनास्थित एमिक्स डेल नेपाल नामक संस्थाले सहयोग गर्दै आएको छ ।