बाँदर भगाउन ‘बन्दुक’ वितरण

गुगलपाटी संवाददाता
२३ भाद्र २०७७ १२:५०

मकवानपुर उत्तरी क्षेत्रमा अवस्थित थाहा नगरपालिकाले किसानहरुका लागि ५० प्रतिशत अनुदानमा बाँदर धपाउने यन्त्र वितरण सुरु गरेको छ ।

नगरपालिकाले प्रतिगोटा दुई हजार ५ सयका दरले खरिद गरी उक्त यन्त्र वितरण गरेको हो । ‘बाँदर भगाउने बन्दुक’ भनेर परिचित यो यन्त्र नगरपालिका राष्ट्रिय आविष्कार केन्द्र, कीर्तिपुरबाट खरिद गरेको हो ।

नगर क्षेत्रमा किसानहरुले लगाएको बाली बाँदरले सखाप पार्न थालेको किसानहरुले गुनासो गरेपछि नगरपालिकाले थाहा नगरपालिका आफैले बाँदर थपाउने यन्त्र खरिद गरेको मेयर लवशेर विष्टले जानकारी दिए ।

बाँदर धपाउने यन्त्र बाँदर पीडित किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरिने प्रमुख विष्टले बताए । राष्ट्रिय आविष्कार केन्द्र नेपालका प्रमुख महाविर पुनसँग सम्पर्क गरी नगरपालिकाको सिफारिसमा हाललाई ४० वटा यन्त्र खरिद गरी ल्याएको कृषि शाखाका प्रमुख सञ्जय तिवारीले बताए । अहिले थाहा नगरपालिकाले वडा कार्यालयको सिफारिसमा बाँदर पीडित किसानहरुका लागि यन्त्र वितरण गरिरहेको छ ।

थाहा नगरका प्रत्येक वडाका लागि तत्काल कम्तिमा ३ वटाका दरले वितरण गरिने कृषि शाखा प्रमुख तिवारीले बताए । बाँदर धपाउन प्रयोग गरिने यन्त्रमा केरा पकाउनका लागि प्रयोग गरिने केमिकल (कारबाइट) राखेर पड्काउने र त्यसबाट ठूलो आवाज आउने हुँदा बाँदरहरु तुरुन्तै नफर्किने गरी भाग्ने प्राविधिकहरुको दाबी रहेको छ ।

केही वर्षदेखि सयौंको संख्यामा रहेको बाँदरहरुको दर्जनभन्दा बढी समूहले थाहा नगरका कृषकहरुले लगाएको नगदे तथा अन्नबाली नष्ट गर्दै आएको छ ।
स्रोतः कान्तिपुर