ललितपुरमा थप चारजनाको कोरोनाकै कारण मृत्यु

गुगलपाटी संवाददाता
३ आश्विन २०७७ ११:०२

पाटन अस्पतालमा तीन जनासहित ललितपुरमा उपचाररत चार जना कोभिड –१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरका २ जना तथा सर्लाही र भक्तपुरका १र१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। मृत्यु हुनेमध्ये सर्लाहीका ६० वर्षका पुरुष छन्। पाटन अस्पतालमा उपचारका लागि भदौ २६ गते भर्ना भएका उनको शुक्रवार मृत्यु भएको हो। त्यस्तै, मृत्यु हुनेमा ललितपुरका २ महिला छन्। उनीहरू दुवैको पाटन अस्पतालमा मृत्यु भएको हो। जसमध्ये भदौ २० गते उपचारका लागि भर्ना भएकी ७६ वर्षकी महिला र भदौ २५ गते उपचारका लागि भर्ना भएकी ६८ वर्षकी महिला छन्। उनीहरूको पनि शुक्रबार नै मृत्यु भएको हो। त्यस्तै,भक्तपुरकी ९० वर्षकी महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ। ललितपुरको मेघा अस्पतालमा उपचारका लागि असोज १ गते भर्ना भएकी उनको शनिबार बिहान मृत्यु भएको थियो।