६ महिनापछि सुरु भयो आन्तरिक उडान
गुगलपाटी संवाददातालकडाउनका कारण बन्द आन्तरिक हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । नेपाल सरकारको भदौ २९ को मन्त्रिपरिषद्को निर्णय अनुसार झन्डै ६ महिनापछि आन्तरिक उडान सेवा सञ्चालन भएको हो ।
काठमाडौंबाट उडेको बुद्ध एयरको यु ४ ६०३ जहाज पहिलोपटक सोमबार बिहान पौने ९ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो । ५ जना बालबालिकासहित ५६ यात्रु लिएर जहाज आएको थियो । यो कुल सिटको ८० प्रतिशत हो । जहाजमा वायुसेवा सञ्चालक संघका पदाधिकारी पनि पोखरा आएका थिए । उक्त जहाजले पोखराबाट ५७ यात्रु बोकेर काठमाडौं गएको थियो ।
संघका अध्यक्ष रामेश्वर थापाले कोरोना संक्रमणलाई विशेष ध्यान दिई सुरक्षाका आवश्यक सबै उपाय अपनाएर सोमबारदेखि उडान थालिएको बताए । पोखरा आएको पहिलो उडानका यात्रीले सुरक्षादेखि आवश्यक संयमता र धैर्यता बटुलेको उनको भनाई थियो । उनले पहाडी र हिमाली जिल्लाका विमानस्थलमा पनि छिट्टै उडान गर्ने बताए । पोखरा विमानस्थल कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंले सोमबार काठमाडौं–पोखरा–काठमाडौं ४ उडान तालिका रहेकोमा यति एयरलाइन्सको एउटा उडान रद्ध भएको बताए । बुद्धका २ र यतिको एक गरी ३ उडानमात्रै हुने उनले बताए ।