अस्पताल लैजाँदै गर्दा एम्बुलेन्समै दुई जना कोरोना संक्रमितको मृत्यु
गुगलपाटी संवाददाताबुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा उपचारका लागि ल्याउने क्रममा दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका १३ का ९२ वर्षीय वृद्ध र सिराहाको सुखिपुर नगरपालिका–२ का ५५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो ।
होम आइसोलेसनमा बस्दै आएका इटहरीका वृद्धलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्समा विराट मेडिकल अस्पताल ल्याउने क्रममा मृत्यु भएको अस्पताल प्रशासनका पदम बिनाडीले बताए । तीन दिनअघि कोरोना संक्रमण दखिएको वृद्ध मधुमेह, उच्च रक्तचाप र दमका दीर्घरोगी रहेको उनले बताए ।
यस्तै, नोबेल अस्पतालमा दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका सिरहाको सुखिपुर–२ का ५५ वर्षीय परुषको स्वाब परीक्षण गराउँदा बिहीबार कोरोना पोजिटिभ आएपछि शुक्रबार विराट मेडिकल अस्पतालको आइसोलेसनमा रिफर गरिएको थियो ।
सिरहा र इटहरीका एम्बुलेन्समा आएका दुवै जनालाई एम्बुलेन्सबाट ओराल्ने क्रममा चिकित्सकले मृत अवस्थामा फेला पारेको बिनाडीले बताए ।
स्रोतः कान्तिपुर