प्रदेश ५ को नाम र राजधानी प्रस्ताव : सरकारकै पक्षमा मतदान गर्न नेकपाको ह्विप
गुगलपाटी संवाददाताप्रदेश ५ को नेकपा संसदीय दलले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको प्रस्तावका पक्षमा मत हाल्न आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गरेको छ ।
संसदीय दलको सोमबार बसेको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलले सरकारको निर्णयका पक्षमै मत हाल्न ह्विप जारी गरेको प्रदेशसभा सदस्य दधिराम न्यौपानेले जानकारी दिए ।
प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ गरी ८७ सदस्य छन् । सरकारको प्रस्ताव पारित हुनका लागि ५८ मत चाहिन्छ जुन नेकपाले ह्विप जारी गरेपछि पूरा हुने देखिएको छ । यसअघि दाङको देउखुरी क्षेत्रलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावमा लुम्बिनी क्षेत्रका नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखेका थिए ।
बैठकमा ढिलाइ
यसै गरी प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्तावमाथि छलफल गर्न सोमबार दिउासो १२ बजेलाई बोलाइएको बैठक एक घण्टा पछाडि सरेको छ ।
सभामुख पूर्णबहादुर घर्तीले दलहरू बिहानैदेखि छलफलमा रहेका र अहिले खाना खाने समय भएकाले बैठक एक घण्टा सारिएको बताए ।
प्रदेशसभा स्थलमा सुरक्षा व्यवस्था कडा पार्दै व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्रोतः कान्तिपुर