कोरोनाको कहरमा पनि आश्रमले सेवा दिन छाडेन
गुगलपाटी संवाददाताकुमारी स्याङ्बो
हेटौंडाः छोराबुहारीले घरबाट निकालेर सडकमा अलपत्र पारेका हेटौंडाकी लक्ष्मी देवी कार्की हेर्टौंडा उपमहानगरपालिका ९ स्थित मानव सेवा आश्रममा छन् । उनलाई भेट्न कोही आउँदैनन् । उनी ८० वर्षकी भइन् । उनको छोरीछोरा छन् तर भेट्न भने कोही आउँदैनन् । छोराछोरीको नातिनातिना हुर्काएकी कार्की अन्त्यमा आफैं बेसहारा भएकी छिन् ।
छोराछोरीले जन्मदिने बाबुआमा प्रतिको दायित्व बिर्संदा नेपाली समाजमा यसरी सडकमा हिड्ने वृद्धवृद्धाको संख्या बढेको छ । संयुक्तबाट विस्तारै एकल परिवारमा रूपान्तरण भइरहेको नेपाली समाजमा एकातिर बूढा बाबुआमा सडकमा फालिंदैछन् भने अर्कातिर तिनका नातिनातिना घरभित्रै एक्लोपनको शिकार भइरहेका छन् । बूढा बाबुआमालाई त के साना छोराछोरीलाई समेत समय दिन नसक्नेहरूको संख्या बढिरहेको छ ।
पारिवारिक मूल्यमान्यता कम हुँदै गएको नयाँ पुस्तामा अग्रजहरूप्रति माया र सम्मान घट्दो छ आश्रमका केन्द्रिय सदस्य उमा भण्डारीले बताइन् । नेपाली समाजमा यो सांस्कृतिक विग्रह हुने खतराको विषय बनेको छ । वृद्ध, अशक्त र असहायका लागि हेटौंडामा आश्रम सञ्चालन गरेकी भण्डारीको अनुभवमा, समाजमा वृद्धवृद्धालाई सम्मान गर्ने छोराछोरी र नातिनातिनाको संख्या घट्दो छ । बाबुआमाले कामकाजी छोराछोरी र नातिनातिनाबाट आत्मीयता नपाउँदा पारिवारिक मनमुटाव बढेको बताउँछन् । समाजमा पैसाको पछाडि दौड्ने मानसिकता हुर्किएकोले गरीब वृद्धवृद्धा मात्र हैन, जीवनमा प्रशस्त सम्पत्ति जोडेकाहरू समेत अप्ठ्यारोमा परेका छन् । वृद्धवृद्धाको सामाजिक सुरक्षाको लागि सरकारले ठोस काम गर्नु जरुरी भइसकेको छ, भण्डारीले भनिन् ।
कोरोना कहरका कारण विगतमा जस्तो मानिसको उद्धार गर्न सहज नभए पनि मानिसको निरन्तर फोनले खिन्न बनाउँछ । उनीहरुलाई आश्रममा ल्याउन पिसिआर परीक्षण पहिलो शर्त हो । यसरी फोन गर्ने मानिसलाई परीक्षणको मतलब हुन्न । उनीहरुको सोच उठाएर लगिदिए हुन्थ्यो मात्रै हुन्छ । एकै फोनमा उठाउन सक्ने सम्भावना हुन्न, त्यसैले कतिपय रिसाउँछन् भण्डारीले भनिन् ।
उनले लकडाउनको अनुभव सुनाउँदै भने, पिसिआर गरेपछि भन्नुहोला हामी सेवामा तयार छौँ भनेर जवाफ दिन्छौँ, तत्कालै नउठाएको भनेर कतिपय रिसाउने पनि गर्दछ ।
कोभिड–१९ मा हेलचेक्र्याईं गर्नु हुन्न भन्नेमा सबै सचेत हुनुपर्छ । राज्यले लागू गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्नुपर्छ । सङ्क्रमण दर बढ्दो रहेकाले अझै सचेत हुँदै काम गर्नुपर्ने अवस्था छ । कोरोना कहर मात्रै भनेर नहुने रहेछ । सडकमा दुःख बल्झिएको देख्दा मन कटक्क खान्छ, त्यसै छाड्न मन मान्दैन उनी भन्छिन् । पीडा देख्दादेख्दै पनि पिसिआर नगरी उद्धार गर्न सकिएको छैन । मुलुक नै प्रभावित भइरहेको बेला अहिले सडकका मानिसलाई पिसिआर गर्न धौधौ पर्छ ।
मजदुरसमेत सडकमा आइपुगेकाले अवस्था दयनीय बन्दै गएको छ । यो अवस्थामा धेरैलाई अझै उद्धार गर्न सकिएको छैन । तैपनि स्वास्थ्य मापदण्ड अपनाएर आश्रमले लकडाउनको अवधिमा लगभग ३५ जनाको उद्धार गरेको छ । मकवानपुर सडक मानवमुक्त जिल्ला घोषणा भइसकेको छ ।
अझै धेरै सडकमा भए पनि पिसिआर गर्न नसकिएकाले ल्याउन नपाएको आश्रमको अनुभव छ । आश्रममा क्वारेन्टिन छैन । त्यसैले सिधै उठाउन सकिने अवस्था छैन । तैपनि विभिन्न सहयोगी संस्थाले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्दै सेवा भने छाडिएको छैन । उनीहरुले अझै मानवीयतालाई हराउन दिएका छैनन् ।
उद्धार गर्नका लागि पिपिइ लगाएर आश्रमका अभियानकर्र्मी खटिन्छन् । हातमा पञ्जा, साथमा सेनिटाइजरसहित मुखमा मास्क लगाएर सडकमा पुग्छन् । भेटिएका बेसहारा सडक मानवलाई उद्धार गर्दा मापदण्डकै प्रयोग गर्ने गरिएको छ । उनीहरुलाई पनि सेनिटाइजर गरेर मास्क दिएर मात्रै उद्धार गर्ने गरिएको आश्रमले जनाइएको छ ।
आश्रमले अहिलो झण्डै एक सय ६० जनालाई संरक्षण दिँदै आएको छ । जसमा सय जना पुरुष छ भने ६० जना महिला रहेको छ । यसरी उद्धार भएका ३०० भन्दा बढीलाई पुर्नमिलन गराइएको छ ।
आश्रमलाई बागमती प्रदेश सरकारले आव ०७६÷७७ मा ७५ लाख बजेट हस्तान्तरण गरेको छ । नगरपालिकाले १२ लाख सहयोग गर्ने भएको छ । दशैको समयलाई टार्गेट गरि वल्डलिङक कम्युनिकेसन लिमिटेड काठमाडौंबाट आश्रममा ११ सय जोर कपडा समेत सहयोग गरेको छ । कपडामा ट्रयाकसुट रहेको छ ।