रिद्धिसिद्धीको खानीमा गाउँलेको अबरोध

गुगलपाटी संवाददाता राक्सिराङ
२९ मंसिर २०७७ १३:४९

मकवानपुरको राक्सिराङ–४ स्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगको गिङ्ङु खानीमा स्थानीयहरुले अबरोध गरेका छन् ।
चुनढुङ्गा उत्खनन्को क्रमाम स्थानीयको घर नै पुरिन थालेको भन्दै उनीहरुले तत्काल पुर्नबासको माग गर्दै खानी बन्द गरेर बिरोध गरेका हुन् । उनीहरुले आइतबार खानीमा पुगेर नाराबाजी सहित उत्खनन् कार्य रोकेका थिए । करिब ६० जनाको संख्याम पुगेको स्थानीयबासीहरुले तत्काल पुर्नबासको ब्यवस्था गर, जर्बजस्ती घरबास उठाउन बन्द गर, उचित मुआब्जाको ब्यवस्था गर जस्ता प्लेकार्ड बोकेर बिरोध समेत गरेका थिए ।


आइतबार साँझ स्थानीयले खानी उत्खनन क्षेत्रमा ट्रिपर समेत रोकेका थिए । टिपर रोकेर खानीबाट उत्खनन् गरी ल्याइएको कच्चा पदार्थलाई खन्याउन लगाएर सडक अबरोध गरेपनि सोमबार बिहानै उद्योगले बल प्रयोग गरी खानी सुचारु गरेको स्थानीय बलराम चेपाङले बताए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले खानी अनुमगन गर्दै जनताको माग सम्बोधन गरेर खानी सञ्चालन गर्न उद्योगलाई निर्देशन दिएको थियो । तर स्थानीय जनप्रतिनिधिहरुसँग सम्झौता गरी उद्योगले खानी सञ्चालन गरेपनि स्थानीयहरुले आफ्ना मागहरु पुरा नभएको भन्दै सहमति जनाएका छैनन् । स्थानीयबासीको असन्तुष्टिपछि जनप्रतिनिधिहरुले गाउँमा गएर स्थानीयसँग छलफल गर्न सकेका छैनन् ।


स्थानीयबासीहरुले उचित पुर्नबास गराउनुपर्ने, उचित मुल्यमा स्थानीयको जमिन खरिद गर्नुपर्ने, जग्गा बिक्री गर्दा १० लाख रुपैयाँभन्दा कम रकम प्राप्त हुनेलाई अन्यत्र पुनर्बास गराउनुपर्ने लगायत माग राखेका छन् ।
स्थानीयको उचित व्यवस्थापनबिना नै खानी सञ्चालन गरेपछि गिङुङुका करिब एक दर्जन परिवार विस्थापित भइसकेका छन् । अन्य करिब एक दर्जन परिवारले गाउँ छाड्नुपर्ने अवस्था आएको स्थानीय जनसरोकार समितिका अध्यक्ष गोपाल तामाङले बताए ।


उक्त खानी सञ्चालन हुँदा उद्योगको तल्लो क्षेत्रमा बसोबास गर्दै आएका ६५ परिवार विस्थापित हुने र २५ हेक्टर जमिन प्रभावित हुने उनीहरुको भनाइ छ । खानी विभागले हालसम्म गिङ्ङु डाँडामा ऋद्धिसिद्धी सिमेन्टले उत्खनन अनुमति लिइनसकेको जनाएको छ । गिङडु डाँडादेखि गोराङ्दी खोला किनारसम्म भिरालो जमिनमा रहेको बस्ती खानी सञ्चालनपछि उच्च जोखिममा रहने भन्दै खानी विभागको अध्ययन टोलीले उक्त बस्तीलाई अन्यत्र सारेर मात्र खानी सञ्चालन गर्न सकिने प्रतिवेदन विभागमा बुझाएको छ ।