प्रधानमन्त्रीको चुरिफुरि धेरै दिन टिक्दैन : खतिवडा
गुगलपाटी संवाददाता बकैयानेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल नेपाल समुह मकवानपुरको बकैया गाउँपालिकामा अगुवा कार्यकर्ताहरुको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
आज बकैया ४ जुरेलीमा भएको कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिरोध खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीको टिमको चुरिफुरी धेरै दिन नटिक्ने बताए । ‘अहिले उहाँहरुको चुरिफुरी सत्ताको आडमा हो । प्रतिगमनको बाटो समाउनेहरुलाई जनताले माफ गर्ने छैनन्’, उनले भने ।
नेकपाका जिल्ला सचिव तथा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु) ले नेता कार्यकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीको गलत कदम बिरुद्ध एक जुट हुँदै वडा र टोल टोलमा संघर्षका कार्यक्रमहरु गर्न निर्देशन दिए । ‘हामीले जनतालाई बुझाउनु छ र असम्बैधानिक कदम खारेजीको लागि आन्दोलन बिकल्प छैन’, उनले भने, ‘राजा न नटिकेको देशमा तानाशाह बन्नेहरुको सपना पनि टिक्न सक्दैन ।’
बकैया गाउँपालिका पार्टी अध्यक्ष नारायण तिमल्सिनाको अध्यक्षतामा भएको प्रशिक्षणमा जिल्ला पार्टी कार्यालय सदस्य बद्रि लम्साल, सचिवालय सदस्य लक्ष्मी पाख्रिन, लक्ष्मी माझी, जिल्ला सदस्यहरु कृष्ण प्रसाद चौँलागाई, सिर्जना थिङ, लोकनाथ गौतम, परर्शुराम गौतम, प्रेम डिमडुङ, अमर स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो ।
प्रशिक्षणमा गाउँ कमिटि र वडास्तर ससम्मका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको नेकपा मकवानपुरका सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक)ले बताए ।