गणतन्त्र धरापमा पार्ने ब्यक्ति कम्युनिष्ट नेता हुन सक्दैन : न्यौपाने

गुगलपाटी संवाददाता
१० माघ २०७७ १२:१९

नेपाल कम्युनियष्ट पार्टी (नेकपा) दाहाल नेपाल पक्ष हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा समितिको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज भएको छ । भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले आन्दोलनले स्थापित गरेको गणतन्त्र धरापमा पार्ने ब्यक्ति कम्युनिष्ट नेता हुन नसक्ने बताए ।
‘पार्टीको बिधि बिधानलाई नमान्ने र गणतान्त्रिक संविधानलाई विघटन गर्ने ब्यक्ति राजनेता त परको कुरा आफ्नै पार्टीको नेता पनि हुन सकेन’, उनले भने, ‘केपीको भ्रम र भ्रान्तीमा नलागौं ।’ न्यौपानेले केपी ओलीले नेकपाको झण्डा उठाएर नेकपा जिन्दावाद बन्ने अधिकार पनि गुमाइसकेको दाबी गरे । नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज कुमारी मोक्तानले एमसीसी पारित गर्न पार्टी र संसदबाट सहमति नपाएपछि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताइन् ।


१० नम्बर वडा कमिटिका इन्चार्ज ज्ञानेन्द्र कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर इन्चार्ज तथा कार्यालय सदस्य श्रीधर पोखरेल, जिल्ला सचिवालय सदस्य तथा जिल्ला संगठन बिभाग सहसंयोजक कमान सिं पाख्रिन (पृथक), सचिवालय सदस्य इन्द्र नेपाल, जिल्ला सदस्य आत्मराम मोक्तान लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम पार्टी १० नम्बर वडा सचिव सन्तोष न्यौपानेले सञ्चालन गरेका थिए ।