१ सय ४३ योजना मार्फत सडक र शहरी संरचना निर्माण गरिँदै
गुगलपाटी संवाददाताहेटौंडा/शहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकले सिन्धुपाल्चोक र दोलखा समेत गरी तीन जिल्ला मार्फत आफ्नो योजनाहरु अगाडी बढाइरहेको छ । यस कार्यालयले सिन्धुलाल्चोकमा ८६, दोलखा जिल्लामा १६ वटा र काभ्रेपलाञ्चोक जिल्लामा ४१ गरी तीन जिल्लाको लागि कुल ४१ करोड ७० लाख लागत बराबरको १ सय ४३ वटा योजना चालु आर्थिक वर्ष २०७९÷८० मा कार्यान्वयन गरिरहेको छ । केहि योजनाहरु बहुबर्षीय रहेका छन् भने केहि योजनाहरु यहि आर्थिक बर्षमा सम्पन्न हुने देखिन्छ ।
काभ्रे जिल्लामा ४१ वटा योजनाहरुको काम भैरहेको छ । २० वटा योजना सम्पन्न भैसकेको र २१ वटा योजनामध्ये पनि ६ वटा बहुवर्षिय योजना रहेको छ । बाकी १५ वटा योजना काम भैरहेको र निर्माण कार्य सम्पन्नको अन्तिम चरणमा पुगेको छ । यस कार्यालयबाट परेको योजना काभ्रे जिल्लाको बनेपा नगरपालिका दुरसञ्चार अगाडीदेखि चैतन्य स्कुल अगाडीसम्म दयाँबायाँ बटुवाका लागि १३ लाख लागतमा सडक पेटी निर्माण भइरहेको छ ।
यस्तै यस कार्यालयकै योजनामा ५० लाख लागतमा काभ्रे जिल्लाको पनौती नगरपालिका ४ स्थित देउराली चामखर्क उकालो ढलान कार्य भैरहेको छ । सडक निर्माण हुनु अघि सुत्केरी महिलाहरुलाई समेत अस्पताल लैजान समस्या थियो । यो सडक ढलान भएपछि गाउँलेले राहत महशुस गरेका छन् । अहिले २४ सै घण्टा यस बाटोले गाउँमा सेवा दिएको छ । एम्बुलेन्सहरु आवत जावत भैरहेको छ ।
यस्तै यस कार्यालय मार्फत एतिहासिक नगरी पनौती नगरपालिका वडा नं ७ स्थित स्मारक क्षेत्रभित्रको गल्लीहरुमा ढंगा छाप्ने कार्य ४० लाख लागतमा काम भैरहेको छ । केही दिनमा नै सम्पन्न हुने पनौती पर्यटन विकास केन्द्रले जनाएको छ । पनौती स्मारक क्षेत्र भित्रको यो योजनाले गाउँको सौन्दर्य र संरचनालाई समेत चिटिक्कै बनाएको छ ।
यस कार्यालयले तीन जिल्लामा भवन बाटो लगायतका पुर्बधार विकासका चालु योजनाहरु र बहुबर्षिय योजनाहरुमा काम गरिरहेको छ । प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले भावी दिनमा यसको महत्व र आवश्यकता र प्रभावकारिताबारे बुझेर थप महत्वपूर्ण गौरवका योजनाहरु समेत यस कार्यालय मार्फत अगाडी बढाउने कार्यालयको अपेक्षा छ । स्थानीय स्तरसम्म यस कार्यालयको कामलाई नमुनाको रुपमा देखाउन प्रयासरत रहेको शहरी विकास भवन कार्यालय काभ्रेका प्रमूख सन्तोष कुमार निरौला बताउनुहुन्छ ।