कार्य सम्पादन मूल्याङ्कनको आधारमा हेटौडा उपमहानगरपालिका प्रथम
गुगलपाटी संवाददातास्थानीय तहले कार्य सम्पादन मूल्याङ्कनको आधारमा मकवानपुरको हेटौडा उपमहानगरपालिका प्रथम भएको छ। मकवानपुरका १० वटा स्थानीय तहमध्ये हेटौडा ३७.११ अंकसहित प्रथम भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले फागुन ८ गते मंगलबार सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा थाहा नगरपालिका दोस्रो स्थानमा रहेको छ । थाहाले ३६.६६ अंक प्राप्त गरेको छ । कार्यसम्पादन मूल्याङकनको सूचकका आधारमा स्थानीय तहमा वित्तिय समानीकरण अनुदानको अंक निर्धारण हुने गर्दछ ।
मकवानपुरका स्थानीय तहमा कार्यसम्पादनमा सबैभन्दा कमजोर बागमती गाउँपालिकाको अंक रहेको छ । बागमतीले कार्यसम्पादन मुल्याङ्कनमा १६।२२ अंक मात्र पाएको छ । आयोगले १७ मध्ये १४ वटा सूचकमा मात्र स्थानीय तहको मूल्याङ्कन गरेको जनाएको छ । कार्यसम्पादन मूल्याङ्कन अनुसार इन्द्रसरोवर गाउँपालिकाले २५.५२ अंक पाएको छ । १४ सूचक मध्ये इन्द्रसरोवरले ८ वटा सूचकमा शुन्य अंक प्राप्त गरेको हो । कैलाशले ५ सूचकमा शुन्यसहित ३२.५२, महनरीले ८ सूचकमा शुन्य अंकसहित २९.८४, भीमफेदीले ६ सूचकमा शुन्य अंकसहित ३१.९१ अंक प्राप्त गरेको छ ।
त्यसैगरी मकवानपुरगढीले ६ वटा सूचकमा शुन्यसहित ३१.९७, बकैयाले १० सूचकमा शुन्यसहित २४.८४ अंक र राक्सिराङले ८ सूचकमा शुन्यसहित २४.२४ अंक प्राप्त गरेको छ । सबैभन्दा कमजोर बागमती गाउँपालिकाको ९ वटा सूचकमा अंक शुन्य प्राप्त गरेको छ । जिल्लाकै उत्कृष्ट हेटौंडा उपमहानगरपालिकाको ५ वटा सूचकमा शुन्य अंक पाएको छ भने दोस्रो थाहा नगरपालिकाको ३ वटा सूचकमा मात्र शुन्य अंक पाएको छ ।
प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश र स्थानीय तहका लागि निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन गरी अंक प्रदान गरिएको आयोगले जनाएको छ ।