सांसदहरुको अर्थमंत्रीलाई कटाक्ष : वडाअध्यक्ष जितेर देखाउनुस्

गुगलपाटी संवाददाता काठमाडौं
१८ जेष्ठ २०७५ १२:५२

अर्थमंत्री युवराज खतिवडाले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गरे लगत्तै संघीय संसदमा यस बिषयमा बिभिन्न टिका टिप्पणी भइरहेका छन् ।

यसक्रममा शुक्रबारको छलफलमा सत्तापक्ष संघीय समाजवादी फोरमका सांसद प्रदीप यावदले सांसदको दबाबमा चार करोड बजेट छुट्याउनु परेको भन्दै दिएको अभिव्यक्तिले सांसदको अपमान गरेको बताए। ‘चार करोड हामीलाई दान दिएजस्तो गरिरहेको छ,’उनले भने, ‘हामीले भिख दिएजस्तो लाग्यो। हामी जनताबाट निर्वाचित जनप्रतिनिधि हौं। आशीर्वाद र टिकेप्रथाबाट आएका हैनौं। तपाईं पहिला जनताको प्रतिनिधि भएर आउनुस्।’वडाध्यक्ष समेत जितेर नआएको व्यक्तिले सांसदको अपमान गरेको उनले आरोप लगाए। ‘तपाई जनताको प्रतिनिधि होइन। हामीलाई अपमान गर्दा दिलमा चोट पुगेको छ,’ उनले भने, ‘चार करोड राख्नुस् जे जे बनाउनु छ बनाउनुहोस्।’ चार करोड रुपैयाँ रोइरहेको बच्चालाई चकलेट दिएजस्तो गरेको उनको आरोप छ।

पूर्वमाओवादी केन्द्रका सांसद अमनलाल मोदीले अर्थमन्त्री युवराज खतिवडा मनोनित सांसद भएकोले जनताको चाहना र भावना बुझ्न नसकेको बताए। ‘आफू नमरेसम्म स्वर्ग देखिँदैन भन्थ्यो, हो रैुछ जस्तो लाग्यो,’ उनले भने, ‘मनोनितले जनताको भावना बुझेन।’ सांसदको मानमर्दन गर्न नसके देशको विकास नहुने उनले बताए।

सत्तापक्षकै सांसद अग्नी सापकोटाले पनि अर्थमन्त्रीको आलोचना गरे। बजेटले राजस्व चुहावट, आर्थिक अनुशासन कायम गर्नेलगायत अन्य सुधार गर्ने भए पनि घोषणापत्र, नीति तथा कार्यक्रम, नेताहरुले गरेको प्रतिबद्धता अनुसार नभएको बताए। बजेटले अग्रगामी फड्का हान्न नसकेको उनले औंल्याए। ‘ड्याम ड्याम धक्का मार्दै अघि बढ्नु पर्नेमा धक्का मार्नै सकेन। उनले भने, ‘सहिद परिवार, बेपत्ता अपाङ्गता भएका ब्यक्तिको परिवारको समस्या समेटिएन। उनीहरुलाई अवमूल्यन गर्नु हुँदैन।’

तपाईको प्रतिक्रिया