सुधार तथा खुलापन चीनका लागि निर्णायक कदमः सी
गुगलपाटी संवाददाता‘म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा पुनः निर्वाचित भएँ। यो मेरो कामप्रति समर्थन मात्रै नभएर मेरो लागि प्रेरणा पनि हो’, ग्रेटहल अफ द पिपुल्समा बुधबार सहकर्मी नेताहरूका साथ उपस्थित भएका राष्ट्रपति सी जिन फिङले भने।
एक साता लामो पार्टीको १९औं महाधिवेशनपछि बुधबार चिनियाँ तथा विदेशी पत्रकारहरू सामु बेइजिङमा साक्षात्कार कार्यक्रम आयोजना गरिएको थियो।
सीले नवनिर्वाचित पोलिटव्युरो सदस्यहरूलाई पनि प्रस्तुत गरे र भने, ‘नवनिर्वाचित केन्द्रिय नेतृत्वको तर्फबाट सम्पूर्ण पार्टी सदस्यहरूलाई विश्वास गरेकोमा धन्यवाद प्रकट गर्छु। हामी लक्ष्यप्राप्तिका लागि लगनशील भएर काम गर्नेछौं र लक्ष्य पूरा गरेर विश्वासलाई सार्थक तुल्याउनेछौं।’
पत्रकार सम्मेलनमा सीले सन् २०१९ मा जनगणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सव भएकाले त्यतिञ्जेलसम्म चीनले नयाँ विकास अवधारणा पछ्याएर दिगो आर्थिक तथा स्वस्थ विकासलाई प्रवर्द्धन गर्ने बताए।
यसबाट चिनियाँ जनता र अरु विभिन्न मुलुकका जनतासामु फाइदा वितरण गर्न सकिने विचार सीले प्रकट गरे। उनले भने, ‘चीनले तेह्रौँ पञ्च वर्षीय योजनामा समेटेका हरेक कार्यभारलाई निरन्तर व्यवहारमा उतार्नेछ। आगामी नयाँ विकास योजनाका साथ चौतर्फी विकासलाई प्रवर्द्धन गर्नेछ।”
चीनमा खुलापन लागू भएको आगामी वर्ष सन् २०१८ मा ४०औं वार्षिकोत्सव पर्ने भएकाले सुधार र खुलापन नै वर्तमान युगमा चीनका लागि निर्णायक कदम हुने पनि सीले औंल्याएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीले प्राप्त गरेका अनुभवहरू सारांश गर्दै सीले राज्य र पार्टी सञ्चालन क्षमताको आधुनिकीकरणलाई अघि बढाउँदै जाने बताए।
चिनियाँ कम्युनिष्ट पार्टीले सुधारलाई गहन पार्दै खुलापनलाई विस्तार गर्दै जाने दृढता पनि सीले प्रस्तुत गरे।
महाअधिवेनबाट मंगलबार चयन भएको नयाँ केन्द्रीय समितिको पहिलो पूर्ण वैठक सम्पन्न भएपछि राष्ट्रपति सी पत्रकार सम्मेलनमा देखिएका हुन्। उनले आवश्यक जिम्मेवारी वहन गर्न र मेहनतका साथ काम गर्न सबैमा अपील गर्दै आगामी वर्ष देश र विश्वका लागि थप मेहनत गर्न सुझाए। उनले लामो प्रयास गरेर चिनियाँ विशेषतायुक्त समाजवादले नयाँ युगमा प्रवेश गरेको बताए।
आगामी पाँच वर्षमा चीनले दुई शताब्दी लक्ष्यको ऐतिहासिक अन्तरपरिवर्तनको अवधिमा रहेको सीले विश्लेषण गरेका छन्। उनका अनुसार चीनले पहिलो शताब्दी लक्ष्य साकार तुल्याउने छ र दोस्रो शताब्दी लक्ष्यका लागि थालनी गर्नेछ।
मंगलबार अधिवेशन समापन भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको १९औं केन्द्रिय समितिको पहिलो पूर्ण बैठक बसेको थियो। सो बैठकले सीलाई पुनः केन्द्रिय समितिको महासचिवमा नियुक्त गर्यो। पत्रकार सम्मेलनमा ७ जना चिनियाँ कम्युनिष्ट पार्टी स्थायी समिति सदस्यहरू सार्वजनिक भए। पुरानै अनुहारमा सी चिन फिङ र ली खछ्याङ रहेका छन्। थप नयाँ अनुहारमा ली चान शु, वाङ याङ, वाङ हुनिङ, चाओ ल ची, हान चङ रहेका छन्।
यसैगरी बैठकले अनुशासन अनुगमन केन्द्रिय आयोगका महासचिवमा चाओ ल चीलाई निर्वाचित गरेको छ। बैठकले केन्द्रिय सैन्य आयोगका पदाधिकारी चयन गरेको छ। सैन्य आयोगका अध्यक्षमा सी चिन फिङ नियुक्त भएका छन् भने उपाध्यक्षमा स्वी छिलियाङ र चाङ यौस्या छनोट भएका छन्।
यसैगरी सदस्यहरूमा वेइ फङ ह, ली चुओछङ, मियाओ ह्वा, चाङ शङमिन निर्वाचित भएका छन्। यसअघि केन्द्रिय सदस्यहरू छनोट भएका थिए। सो महाधिवशेनमा सी चिन फिङ लगायत २०४ जना केन्द्रीय सदस्य र १७२ जना वैकल्पिक सदस्य निर्वाचित भएका छन्। त्यस्तै १३३ जना केन्द्रीय अनुशासन अनुगमन आयोगमा निर्वाचित भएका छन्।