कीमलाई ह्वाइटहाउस भित्राउने टम्पको चाहना
गुगलपाटी संवाददाता सिंगापुरअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिंगापुरमा आगामी मंगलबार हुने शिखर बैठक राम्ररी अघि बढे उत्तर कोरियाली नेता किम जोङ–उनलाई ह्वाइटहाउस भ्रमणमा बोलाउन सक्ने बताएका छन् ।
किमसँग जुन १२ मा हुने शिखर बैठकबारे जापानी प्रधानमन्त्री सिन्जो आबेसँग छलफल गरेपछि उनले यस्तो बताएका हुन् । उनले कोरियाली युद्ध अन्त्य गर्ने विषयमा सम्झौता हुने सम्भावना रहेको बताएका छन् ।
अमेरिका र उसका साझेदारहरूले उत्तर कोरियाले परमाणु अस्त्र परित्याग गर्नुपर्ने बताउँदै आएका छन् । तर राष्ट्रपति ट्रम्पले त्यसका लागि एक बैठक नै काफी भएकोमा जोड दिए ।
ट्रम्पले मित्रतापूर्ण सम्बन्धका लागि वार्ता भइरहेकाले उत्तर कोरियाको सन्दर्भमा ‘अधिकतम दबाब’ भन्ने शब्द आफूले प्रयोग नगर्ने बताए । तर ट्रम्पले आफूसँग उत्तर कोरियाविरुद्ध कैयौं प्रतिबन्ध लगाउन सक्ने शक्ति रहेको चेतावनी दिए ।
ट्रम्पले शिखर बैठक सकारात्मक दिशाउन्मुख नभए आफू त्यसबाट बाहिरिन तयार रहेको दोहोर्याए । उनले त्यस्तो अवस्थामा भने किमलाई वासिङ्टन भ्रमणको निम्तो दिने नसकिने उनको भनाइ छ ।
‘यदि सबै कुरा राम्ररी अघि बढ्यो भने त्यसलाई राम्रो अर्थमा लिन सकिन्छ,’ ट्रम्पले भने, ‘मलाई लाग्छ त्यो निकै सकारात्मक हुनेछ ।’ फ्लोरिडास्थित मार–अ–लागो रिसोर्टमा किमलाई निम्तो गर्नुहुन्छ भन्ने संवाददाताको प्रश्नमा भने ट्रम्पले सम्भवतस् ह्वाइटहाउसबाटै भ्रमण सुरु हुन सक्ने उनले बताए ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले किमले परमाणु निस्शस्त्रीकरण गर्न तयार रहेको आफूलाई संकेत दिएको बताए । तर पोम्पियोले उत्तर कोरिया परमाणु निस्शस्त्रीकरणका लागि तत्काल तयार भएरनभएको बारे आफू स्पष्ट नभइसकेको बताए । पोम्पियोले गत महिना उत्तर कोरियाली राजधानी प्योङयाङको भ्रमणका क्रममा किमसँग भेटवार्ता गरेका थिए ।