प्रदेश तीनको राजधानी  :  मुकुन्दसेनको राज्यमा किन हुन्न ?

कृष्णउदास खनाल समाचार बिश्लेषण
२७ असार २०७५ ०७:०२

नेपाल अधिराज्यको एकीकरण पूर्व मुकुन्दपुर राज्यको रुपमा प्रसिद्ध हालको मकवानपुर जिल्ला तथा यस आपसका क्षेत्रमा सेनवंशका मुकुन्दसेन राजाले लामो समयसम्म राज्य गरेका थिए । मुकुन्दपुर नामबाट अपभसं हुँदै पछि मकवानपुर रहन गएको यस जिल्ला राष्ट्र निर्माताको ससुराली राज्यको रुपमा पनि ऐतिहासिक नाता रहेको थियो । यँहा रहेका चिसापानीगढी र मकवानपुरगढी लगायतका धरोहरहरुले तत्कालीन बस्तुस्थीतिको अकाट्य प्रमाणको रुपमा ऑफ्नो अदितिय पहिचान दिन सफल रहेका छन् ।
यस नगरको ऐतिहासिक तथ्यलाइ हेर्दा हालको पिपलबोट भन्ने स्थानमा रहेको दुइ चार घरको बस्ती पछी सानोपोखरा लगायत अन्य क्षेत्रमा बढ्दै जाँदा बि.स २०१८ सालमा हेटौंडा गाँउ पञ्चायतको रुपमा बिकास भएको थियो । बढ्दो बिकासको गती सँगै बि.स २०२६ सालमा नगर पञ्चायतको रुपमा काँचुली फेर्न सफल यस नगर बि.स २०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापना पछि हेटौंडा नगरपालिकामा परिणत भयो । घना जंगलले ढाकेको यस क्षेत्रमा बि.स २०११ सालमा यस जिल्लाको धोर्सिङमा गएको भिषण बाढी पहिरोबाट बिस्थापित मानिसहरुको आगमनले यस नगरको बस्ती बिकासमा ठूलो पभाव पर्न गएको ऐतिहासिक तथ्य रहेको देखिन्छ ।
किवंदन्ती अनुसार यस नगरको नामाकरणको प्रसंग महाभारतकालका एक पात्र राक्षस हेडम्बा तथा वनवास पसेका पाँच पाण्डवसँग जोडिएको जनश्रुती पाइन्छ । हेडम्बा भन्ने राक्षसको नामबाट नै यस ठाँउको नाम हाल हेटौंडा रहन गएको पाइन्छ । राणाकाल भन्दा अघी देखी नै नेपालको राजधानी काठमाडौंलाइ जोड्ने मार्गको रुपमा रहेको हेटौंडा नगरको बिकासमा बि.स २०१४ र १५ सालमा निर्माण त्रिभुवन राजपथले थप योगदान पुर्याएको देखिन्छ । २०४० सालपछि मकवानपुरको सदरमुकाम बनेको हेटौंडा करिब तीन दशकको समयमा ठुलो परिवर्तन भएको छ । ४० साल भन्दा पहिला राजधानी रहेको भीमफेदी आज अस्तित्वको संकटमा छ । पूर्व पश्चिम राजमार्ग हेटौंडा भएर गएपछि हेटौंडाको भाग्य खुल्यो र आज यो शहर पनि बृहत भयो ।
करिब ३५ बर्षको यो अवधिमा आज हेटौंडा तीन नम्बर प्रदेशको अस्थायी भनेपनि राजधानी छ । एक बर्ष अघिसम्म हेटौंडाकै नागरिकले यो शहर राजधानी होला भनेर बिश्वास गरेका थिएनन् तर भयो । अब चुनौती राजधानी जोगाइ राख्नुमा देखिएको छ । शेर बहादुर देउवा सरकारले गएको माघ ३ गते हेटौंडालाई तीन नम्बर प्रदेशको राजधानी घोषणा गरेपछि अहिले हेटौंडामा राजधानीका लागि आवश्यक सबै भौतिक पूर्वाधारको ब्यवस्था गरिएको छ । यो भौतिक पूर्वाधार त्यसै खडा भएको छैन,रातारात सरकारी संयन्त्रको मेहनेत र खर्चका कारण संभव भएको छ त्यसैले अब हेटौंडाको बिकल्प राजधानीमा खोजिनु फेरि अर्को भौतिक पूर्वाधारका लागि कर्मचारीको निद्हराम हुनेदेखि उत्तिकै खर्चको पनि कुरा छ ।
तीन नम्बर प्रदेश सभाको बैठक हेटौंडामा अहिले बसिरहेको छ । अब साउनको पहिलो हप्ता बस्ने बैठकले तीन नम्बर प्रदेशको राजधानी र नाउँ निर्क्यौल गर्नु पर्ने छ । अस्थायी राजधानी हेटौंडा हुदा हुदै केही माननीयहरुले आफ्नो पायक पर्ने स्थानमा राजधानीको माग गरे । राजधानीको अध्ययन गर्न बनेको एक समितिले प्रतिवेदन पनि बुझायो । प्रतिवेदनमा मकवानपुरको हेटौंडालाई एक नम्बरमा राखिएको छैन । एक नम्बरमा काभ्रेलाई राखिएको छ ।काभ्रेको धुलीखेल,आइटी पार्क लगायतका ठाउ रहेको भन्ने गरिएको छ । यही प्रतिवेदनका आधारमा प्रदेश सभाले स्थायी राजधानी तोक्ने भएकाले हेटौंडा राजधानीको सवालमा धरापमा रहेको अब स्पष्ट हुन्छ । समयमा नै प्रदेश सभामा प्रतिनिधित्व गर्ने मकवानपुरका सांसद र मुख्यमंत्रीलाई समेत दबाब बेलैमा नदिनेको हो भने तीन नम्बर प्रदेशको राजधानी बन्ने हेटौंडावासीको सपनामा तुषारापात हुने निश्चित छ ।
यसकारण हेटौंडा उपयुक्त
अस्थायी राजधानी रहेको हेटौंडालाई स्थायी राजधानी बनाउन कुनै गाहे अब छैन ।हिजो अस्थायी नै नतोकेको भए फरक कुरा हुन्थ्यो तर अब तोकीसकेपछि यहाँबाट राजधानी सार्नु मकवानपुरवासीका लागि ठूलो अन्याय गरेको ठहरिनेछ । हेटौंडा केही कारण राजधानीका लागि उपयुक्त छ । सडक संजालका कारण संघीय राजधानीसंग हेटौंडा सहज पहुँच छ । काठमाडौं जानका लागि सहज रुपमा अहिले पनि जान सकिन्छ र भोलि झन् फाष्टट्याक र कान्तिराजपथपछि झनै सहज हुनेछ अनि मदनभण्डारी राजपथ खुल्नेक्रममा छ अथवा धरानचतरा सडक अन्तिम चरणमा छ ।तीन नम्बर प्रदेशको कुनैपनि मानीयहरुलाई हेटौंडाबाट आफ्नो गृहजिल्ला पुग्न असहज देखिन्न फेरि बातावरणका हिसावले पनि हेटौंडा सुन्दर छ त्यसैले काठमाडौंमा घर भएका माननीयका लागि मात्रै हेटौंडा राजधानी नहुन सक्छ अरुका लागि कुनै असहज छैन ।
नाक जोगाउन हम्मे
लहडमै भएपनि शेर बहादर देउवाको सरकारमा उपप्रधानमंत्री रहेका कमल थापाले हेटौंडा राजधानी बनाउन भूमिका खेलेकै हुन् अनि काग्रेसका जिल्ला सभापति इन्द्र बानियाँको पनि भूमिका रह्यो अब सवाल कम्यूनिष्ट सांसदहरुले राजधानी जोगाउन सक्छन् कि सक्दैनन् भन्ने छ । राजधानीसंग मुख्यमंत्रीको पद छाडेको भन्दै आरोप समेत मुख्यमंत्री डोरमणी पौडेलले खेप्न परेको छ । यस्तो अवस्थामा राजधानी यदी हेटौंडाबाट सरीहाल्यो भने इन्द्र बानियाले प्रदेश सभामा मात्रै होइन मकवानपुरमा ठूलै राजनीतिक एजेण्डा राजधानीको सवालमा बनाउनेछन् र कमल थापाले पनि साथ दिनेछन् जसका कारण बाम नेताहरुको साख जोगाउन हम्मेपर्छ कि ?