बेल्ट एण्ड रोड इनिसिएटिभ्स् पनि चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा

गुगलपाटी संवाददाता
१० कार्तिक २०७४ ०६:३४

कङ श्वाङ

कङ श्वाङ

चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ्स् (बीआरआई) लाई चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समावेश गरेको छ।

बेइजिङमा मंगलबार सम्पन्न पार्टीको १९औं महाधिवेशनका दौरान चिनियाँ कम्युनिष्ट पार्टीको विधानको संशोधित मस्यौदालाई पारित गर्दै चीनले अघि सारेको यस अभियानलाई पार्टी विधानमा समावेश गरेको चिनियाँ परराष्ट्र प्रवक्ता कङ श्वाङले बताए।

पार्टी विधानमै समावेश गरिएपछि बेल्ट एण्ड रोड इनिसियटिभ्स् अब चीनको कूटनीतिक सूत्र पनि बनेको छ।

बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता कङले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीको विधानले बेल्ट एण्ड रोड इनिसिएटिभ्सलाई स्वीकृत गरेको छ। यसबाट नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण र समग्र मानवजातीय एकरूपको भाग्य सिर्जनामा बल पुग्नेछ।’

बीआरआईलाई पार्टी विधानमा समावेश गर्नुको औचित्य र यसको प्रभाव तथा कार्यान्वयनबारे पत्रकारहरूले प्रश्न राखेपछि प्रवक्ता कङले सहकार्य र बाँडीचुँडीको सिद्धान्तमा आधारित रहेर पार्टी महासचिव सी चिनफिङले अघि सारेको यस अभियानले निर्माणकार्यहरूमा योगदान गर्ने सुनाए।

‘बीआरआईले नवाविष्कार र खुल्ला सहकार्यलाई टेवा पुर्याउनुका साथै भूमार्ग तथा जलमार्गबाट पूर्व र पश्चिमबीच सम्पर्क स्थापित गर्नेछ’, प्रवक्ता कङले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा स्पष्टसँग उल्लेख गरेबाट यसले पूर्वाधार निर्माणको खाकालाई विस्तृत पार्दै विश्व समुदायसँगको सहकार्यलाई सबल पार्नेछ।’

सन् २०१३ मा चिनियाँ राष्ट्रपति सीले एक पेटी एक मार्ग अर्थात् बेल्ट एण्ड रोड इनिसिएटिभ्सको अवधारणा विश्वमाझ प्रस्तुत गरेका थिए। चीनले गरेको मूल्यांकन अनुसार बीआरआई अभियानले विकास निर्माणको क्षेत्रमा क्रमशः प्रगति हासिल गर्दै गएको छ भने अन्तर्राष्ट्रिय समाजबाट समर्थन र प्रगाढ पहिचान बनाउँदै गएको छ। धेरै भन्दा धेरै मुलुकहरू यस अग्रसरतामा जोडिँदै गएका छन्।

चिनियाँ परराष्ट्र प्रवक्ता कङका अनुसार सी चिनफिङ सरकारले लिएको नीतिलाई पार्टीस्तरबाटै कार्यशैलीमा रूपान्तरण गर्ने ध्येयले यसलाई पार्टी विधानमा समेटिएको हो।

विभिन्न पक्षहरूसँगै मिलेर ‘मानव समुदायको एकै स्वरूपको भाग्य निर्माण गर्न, विश्व स्थिरता, शान्ति, सुरक्षा, साझा समृद्धि तथा स्वच्छ तथा सुन्दर विश्वको निर्माणका लागि योगदान गर्दै जान’ अब चीनको सरकार र पार्टी पनि दत्तचित्तका लागि लागिपर्ने प्रवक्ता कङले बताए।