चेपाङ गाउँमा उज्यालो, खुशीले नाचे गाउँले (फोटो फिचर)

गुगलपाटी संवाददाता (काँकडा)मकवानपुर,साउन १०
१० श्रावण २०७५ १४:४६

मकवानपुरको राक्सिराङ गाउँपालिका ७ धिराङमा बत्ती बलेपछि चेपाङ समुदायमा खुशीयाली छाएको छ । वर्षौदेखि टुकीको भरमा अभाव र गरिबीमा कष्टकर दैनिकी बिताएका उनीहरुले गाउँ नै झिलिमिली भएपछि नाचेर खुशीयाली मनाएका हुन् ।


मकवानपुरको सबैभन्दा बिकट सडक पहुँचबाट करिब छ घण्टाको उकाली चढेपछि पुगिने धिराङमा उज्यालो उनीहरुको सपना थियो । एक दशकदेखि नै सर्बे भएपनि लगानी अभावमा गाउँमा विजुली बल्न सकेको थिएन । गाउँपालिकाको २० लाख रुपैयाँ सहयोगमा स्थानीयले थप १२ लाख रुपैँया बराबरको श्रमदान गरेर स्थानीय शैंकर खोलाबाट नौ किलो वाट विद्युत् उत्पादन गरिएको हो ।
गाउँ उज्यालो हुने भएपछि स्थानीयहरुले विद्युत् उत्पादन गर्ने मोटर बोकेरै पहिलो शंकर खोलास्थित लघुजलविद्युत् उत्पादन गृहमा पुर्याएको उपभोक्ता समितिका अध्यक्ष सन्त बहादुर चेपाङले बताए । ‘अझै छ लाख रुपैयाँ बराबरको ऋण तिर्न बाँकी छ,गाउँपालिकालाई थप बजेटको लागि अनुरोध गरेका छौं’,उनले भने । मकवानपुर र चितवनको सिमानास्थित लोथर खेला नजिक डिहीटारबाट उनीहरुले तीन दिन मोटर बोकेर शंकर खोला पुर्याएका थिए ।


विद्यत् गृहमा मोटरमा पानी छाडेर बिहीबार तीन नम्बर प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङ र राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विद्युत् उद्घाटन गरे । विद्युत् उद्घाटन गर्दै स्थानीयबासी समेत रहेका प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङले चेपाङ गाउँमा उज्यालो सपना पुरा भएको बताए । ‘पाँचसय घरमा बत्ती बाल्ने लक्ष्य छ’, उनले भने, ‘धिराङले अव विकासतर्फ पाईला अघि बढाएको छ । अभाव र गरिबीलाई हामी सबै मिलेर अन्त्य गर्नुपर्छ ।’ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँमा विद्युत् पुगेपनि विद्युतीय सामग्री किन्न नसकेका परिवारहरुलाई ५० हजार रुपैयाँ बराबरको सामग्री गाउँपालिकाले दिने बताए । हाल ८५ घरमा विजुली बलेको छ ।


उक्त खोलाबाटै शंकर खोला दोस्रो लघु जलविद्युत् आयोजना निर्माणको पनि काम भइरहेको छ । राक्सिराङ गाउँपालिकाले पाँच वर्षभित्र गाउँपालिकालाई टुकीमुक्त बनाउने घोषणा गरेको छ । त्यसको लागि गाउँपालिकाले गत आर्थिक वर्षदेखि लघु जलविद्युत् र सौर्य उर्जा उत्पादन अभियान सञ्चालन गरिरहेको छ ।
विद्युत् उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नं प्रदेश कमिटीका महासचिव कृष्ण सारु मगर, राक्सिराङ गाउँपालिकाका इन्जिनियर रुपक सुवेदी, धिराङ निमाविका प्रधानध्यपक बाबुलाल तामाङ लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।